
प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा फरार रहेका सुर्खेतका दुई युवालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुर्खेतको वीरेन्द्रनगर-२ का २९ वर्षीय याम न्यौपाने र २४ वर्षीय अनिल बुढालाई पक्राउ गरेको हो ।
न्यौपाने र बुढालाई आइतबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाडौंको टोखा नगरपालिका-९ गोंगबुमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
उनीहरूले तिहारको बेला सुर्खेत वीरेन्द्रनगर-२ का सञ्जीव कुमार शाहीसहित तीन जनालाई खुकुरी प्रहार गरेका थिए । घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् ।
पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।