
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।
बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामको समीक्षा गरिएको छ । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीलाई निर्देशन दिए ।
'पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं', मन्त्री पौडेलले भने, 'स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रूपमा विकास गराऔं।'
मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमभन्दा कम भार पर्ने गरी काम गरिएको बताए ।
‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’
मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे । ‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’
मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरूको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रित गर्न आग्रह गरे ।
‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौं । वारि पनि पारी अस्पताल पनि हुनु भएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’

मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । अर्थ, कानून भनेर कुनै फाइल ४८ घण्टा बढी रोकिन नहुने उनको भनाइ छ । 'सरकारी कामको यो रवैया हुनु भएन', मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएकाले केही सुधार भइरहेको संकेत मिलेको बताए ।
मन्त्री पौडेलले कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीलाई निर्देशन दिए । 'यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ ?', मन्त्री पौडेलले भने, 'हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौं । कामका लागि आएका हौं भन्ने सोच्नुपर्छ ।'
मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न आग्रह गरे ।
उनले योजना योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्य योजना लिएर आउन आग्रह गरे । उनले विदेश भ्रमण जाने समयलाई ५ दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन सचेत गराए ।
‘विदेश भ्रमण गएपछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला,’ मन्त्री पौडेलले भने ।