
प्रहरीले पर्सामा अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना पत्रकार पनि छन् ।
रौतहटको कटहरिया नगरपालिका-६ का ४१ वर्षीय शेख सा महमदलाई अपहरणपश्चात फिरौती रकम लिँदै गरेको अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका-१६ ईनर्वागाउँका ३० वर्षीय सन्तोष दास तत्मा र सोही वडाको नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् । यसमध्ये शर्मा पत्रकार हुन् ।
उनीहरूलाई आइतबार फिरौतीवापत ५० हजार रूपैयाँ लिँदै गरेको अवस्थामा ईनर्वागाउँबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता, डीएसपी किशोर लम्सालले जानकारी दिए । पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाइएको डीएसपी लम्सालले बताए ।
यसमध्ये शेख सा महमद र सन्तोष दास तत्मा जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् । प्रहरीका अनुसार उनीहरूको चिनजान जेलमै भएको थियो । दुवै जना फौजदारी मुद्दामा सजाय भुक्तान गर्न जेल परेका थिए । जेलमा एक जना नाइके र अर्को भाइ नाइकेका रूपमा रहेका थिए ।
त्यतिबेलै लेनदेनका विषयमा उनीहरूबीच विवाद भएको पाइएको छ । रौतहट घर भएपनि शेख सा वीरगञ्जमै बस्दै आएका थिए ।
केही दिन पहिले शेख सा सामान किन्न भारत पुगेका थिए । सोही बेला सन्तोषको टोलीले उनलाई पिछा गरेको थियो । उनलाई भारतमै केही घण्टा बन्धक बनाएर राखेको खुलेको छ ।
त्यतिबेला शेख अपहरणकारीलाई चेक दिएर मोटरसाइकल र आफूसँग गएका साथीलाई उहीँ छोडेर नेपाल फर्किएका थिए । तर, चेक नसाटिएपछि अपहरणकारीले शेखलाई फोन गरेर नगदै मागेका थिए ।
'मोटरसाइकल र साथीलाई फिर्ता लिने हो भने पाँच लाख चाहियो भनेर शुरूमा भनेका रहेछन् । अन्तिममा ५० हजारमा डिल मिलेछ', डीएसपी लम्सालले भने, 'पीडितले प्रहरीलाई खबर गरेपछि हामी फिरौती बुझाउने ठाउँ पुग्यौं र उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौं ।'
प्रहरीले अपहरणमा प्रयोग गरेको मधेश प्रदेश ०३-०२५ प ३९८० नम्बरको निलो २२० सीसीको पल्सर मोटरसाइकल र रातो कालो रंगको बीआर०५एयू ९७४५ नम्बरको एनएस मोटरसाइकल बरामद गरेको छ ।