
नेपाल एयरलाइन्समा कार्यरत स्थायी विमान चालकहरूको सुविधा वृद्धि गर्न सरकार सकारात्मक देखिएको छ ।
एयरलाइन्सका स्थायी विमान चालकहरूले सेवा सुविधा वृद्धिको माग गर्दै सेवा नै प्रभावित बनाउन थालेपछि सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, अपरेसन्स विभागका निर्देशक र वाणिज्य विभागका निर्देशक सहितको टोलीले अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न तहमा छलफल गरेको छ ।
उक्त छलफलमा चालकहरूको मागबारे सकारात्मक रूपमा विषय अगाडि बढेको निगमले जनाएको छ ।
यस्तै आज बेलुका पनि अर्थ मन्त्रालयमा कार्यकारी अध्यक्ष, अपरेसन्स विभागका निर्देशक र वाणिज्य विभागका निर्देशक सहितको टोलीसँग उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू तथा सहसचिवहरूको उपस्थितिमा सघन छलफल भएको एयरलाइन्सले जनाएको छ ।
सो क्रममा पनि मन्त्रीद्वय विमान चालकहरूको सेवा सुविधा वृद्धिको सम्बन्धमा अत्यन्त सकारात्मक रहेको एयरलाइन्सले स्पष्ट पारेको छ ।
छलफलको क्रममा अर्थ मन्त्री पौडेलले विमान चालक जस्तो उच्च सीपयुक्त जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारअनुसार राष्ट्रिय परिवेशअनुसार सेवा सुविधा दिन आवश्यक रहेको र त्यो गर्दा राष्ट्रिय अर्थतन्त्रको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताउँदै सेवा सुविधा वृद्धि गराउन दबाब दिने नाममा सुनियोजित देखिने गरी बिरामीको बहाना गर्दै उडान प्रभावित गराउनु अक्षम्य रहको बताएको एयरलाइन्सले जनाएको छ ।
यो विषयलाई निगमको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र समग्र नेपाल सरकारले समेत गम्भीर रूपमा लिएको र उपप्रधान तथा अर्थ मन्त्रीबाट तुरुन्त समस्या समाधान गर्न भएको निर्देशन बमोजिम काम भइरहेको जनाइएको छ ।
एयरलाइन्सले समस्या समाधान उन्मुख रहेकाले सबै विमान चालकहरूलाई पुनः आआफ्नो रोस्टरअनुसार उडानमा संलग्न भई कुनैपनि उडान प्रभावित नगर्न अनुरोध गरेको छ ।
विमान चालकहरूले अस्थायीहरुको तुलनामा आफूहरूलाई सेवा सुविधामा विभेद भएको बताउँदै समान सुविधा दिन माग गरेका छन् ।