
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुरको बकैया गाउँपालिका-५ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षका सुवर्ण कुमार बल र सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने २८ वर्षीय मनिषा कुमारी रहेका छन् ।
सुवर्णलाई बाफल र मनिषालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । प्रहरीका अनुसार सुवर्णले क्रोएसिया पठाइदिने भन्दै एक व्यक्तिबाट १५ लाख र मनिषाले दुबई पठाउने भन्दै एक जनाबाट दुई लाख ४५ हजार रकम लिएका थिए ।
तर, उनीहरूले पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि प्रहरीमा जाहेरी परेको थियो । पीडितको जाहेरीपछि पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको एसपी आचार्यले बताए ।