
सिमेन्ट उत्पादन क्षेत्रको एक अग्रणी कम्पनी, शिवम् सिमेन्ट, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा कमाएको छ ।
यो अवधिमा अन्य सिमेन्ट कम्पनीहरू घाटामा देखिएका छन्, तर शिवम् सिमेन्टले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरिएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो।
शिवम्ले सिमेन्ट बिक्रीबाट १ अर्ब ४० करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा घटेको हो । बिक्री लागत पनि घटेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
यस्तै आम्दानी २ करोड १२ लाखबाट १० करोड ५७ लाख पुगेको, जसले नाफामा सकारात्मक प्रभाव पारेको कम्पनीले जानकारी दिएको छ ।
शिवम् सिमेन्टले २००३ मा स्थापना भएदेखि नै गुणस्तरीय उत्पादनलाई आफ्नो प्राथमिकतामा राखेको छ।
४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्ने यो कम्पनीले २०११ मा व्यावसायिक उत्पादन शुरू गरेको थियो।
एनएस गुणस्तर पुरस्कार जित्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा सिमेन्ट बिक्री गरेको दाबी गरेको छ।
लगानीकर्ताका लागि आकर्षक विकल्प
आर्थिक मन्दी र निर्माण क्षेत्रमा गिरावट हुँदाहुँदै पनि शिवम् सिमेन्टले नाफा आर्जन गरेर आफ्नो फन्डामेन्टल शक्ति देखाएको छ।
कम्पनीले डबल डिजिट लाभांश वितरण गर्न सक्ने संभावना देखिएको छ।
हाल शेयर बजारमा मन्दी रहेको अवस्थामा, बलियो वित्तीय आधार भएका कम्पनीमा लगानी गर्नु उचित हुने जानकारहरूको भनाइ छ।
यस्तो छ कम्पनीको आगामी रणनीति
शिवम् सिमेन्ट्सले शेयरधनीलाई थप लाभांश दिने र नयाँ बजार विस्तार गर्ने योजना बनाएको छ। भारतमा पनि निर्यात थालिएकाले कम्पनीको आर्थिक प्रभावकारिता अझ बलियो बन्ने कम्पनीको अपेक्षा छ।
शिवम् सिमेन्ट नेपालकै उत्कृष्ट सिमेन्ट उत्पादकका रूपमा आर्थिक र गुणस्तरीय प्रदर्शनमा अग्रणी रहँदै आएको छ।