
नेपाल आयल निगम लिमिटेडले भैरहवामा बनाउन लागेको भण्डारण गृहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
भैरहवानजिकै ओमसतिया र रोहिणी गाउँपालिकामा बन्ने निगमको प्रादेशिक कार्यालयको डीपीआर गर्न सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो । भैरहवा परियोजना प्रमुख, इन्जिनियर प्रदीप यादव र काठमाडौं विश्वविद्यालयका डीन मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
१ करोड ९५ लाखमा भएको सम्झौता अनुसार ६ महिनाभित्र डीपीआर तयार पारिसक्नु पर्नेछ । डीन पोखरेलले विश्वविद्यालयको विज्ञतासहित डीपीआर बनाउने बताए ।
तीन वर्षमा सक्ने गरी ३ अर्ब २० करोडको लागतमा भैरहवामा आयल निगमले सुविधा सम्पन्न भण्डारण गृह बनाउँदैछ। भण्डारण गृह निर्माणका लागि जग्गा सम्याउने काम सकिएपछि डीपीआरको लागि सम्झौता गरिएको निगमले जनाएको छ ।
१५० वटा ट्यांकर आवत-जावत गर्न सक्ने पार्किङसहित अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई)को मापदण्डलाई पूर्ण पालन गरी निर्माण हुने डिपोमा नवीनत सुरक्षा प्रणाली जडान हुनेछन् । डिपो निर्माणसँगै प्रदेशभर माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्यांकसमेत बन्ने निगमले बताएको छ ।

तीन हजार किलोलिटर क्षमताको तीन ठूला भर्टिकल ट्यांकीमा कूल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह बन्नेछ । त्यस्तै, ७६० किलोलिटर अटाउने तीन वटा भर्टिकल ट्यांकीमा कूल २ हजार २८० किलोलिटर क्षमताको पेट्रोल भण्डार गृह र २५० किलोलिटर क्षमताको दुई वटा भर्टिकल ट्यांकीमा ५०० किलोलिटर मट्टितेल भण्डार गृह बन्नेछ ।
रोहिणी नदीको किनारमा २१ विगाहा जमिनमा आधुनिक डिपो निर्माणका लागि निगमले चालु आर्थिक वर्षको नीति कार्यक्रममा बजेट समावेश गरेको प्रादेश प्रमुख यादवले बताए ।