२५ जेठ २०८३, सोमबार

सरकारले तोक्यो उखुको मूल्य

मंसिर १४, २०८१
महोत्तरी
सरकारले तोक्यो उखुको मूल्य

सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ ।​

यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ ।

मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।

'पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष (सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि) हुनुपर्ने सैद्धान्तिक सहमति भए पनि यसपटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन,' कुशवाहाले भने, 'किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।'

आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उनले जोड दिए ।

'नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ,' कुशवाहाले भने ।

चार दिन पहिले मात्र उखु उत्पादक किसानको छाता सङ्गठन उखु उत्पादक महासङ्घले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गत वर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरिदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उनको भनाइ छ । 

यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो ।

यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताए । उनका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु छ सय ६९ प्रतिक्विन्टल पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्