२५ जेठ २०८३, सोमबार

ढुक्क हुनुस्, सरकार ३ वर्ष तलमाथि हुँदैन : मन्त्री गुरुङ

मंसिर १४, २०८१
स्याङ्जा
ढुक्क हुनुस्, सरकार ३ वर्ष तलमाथि हुँदैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार ३ वर्ष तलमाथि नहुने दाबी गरेका छन् ।​

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्‌घाटन गर्दै उनले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् ।

देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्कसाथ टिक्ने उनको दाबी थियो ।

'यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन,' उनले भने, 'म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।'

अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उनले बताए ।

मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उनले यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गरे ।

'लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन हुँदैन,' उनले भने, 'यस्ता भिजन नभएका र लोकरिझ्याइँ गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुन्छ, धेरै तर्सनुपर्दैन ।'

salt training

कमेन्ट गर्नुहोस्