
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउने बताएका छन् ।
कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना २०८१/०८२–०८५/०८६ सम्बन्धी विज्ञहरूसँगको अन्तरक्रियामा उहाँले नीति प्रधान हुने गरी काम गर्दा सबैका लागि मान्य हुने बताए। “यो प्रदेश सरकारको दस्ताबेज हो, यसले परियोजना होइन, नीति बोकेर अगाडि बढ्छ”, उनले भने, “त्यसैले आज विज्ञबाट प्राप्त सुझाव समावेश गरी प्रदेश सरकारले कार्यान्वयनमा लैजानेछ ।”
मुख्यमन्त्री कँडेलले सरकार बदलिए पनि कर्णाली प्रदेशको चालु नीति, कार्यक्रम र बजेट निरन्तर अगाडि बढ्ने बताए ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सामाजिक न्याय, समृद्धि र सुशासन कायम गर्न उनले खर्च गर्ने क्षमता बढाउनुका साथै प्रदेशको आन्तरिक आम्दानी बढाउन जरूरी रहेको धारणा राखे ।