२५ असार २०८३, बिहीबार

सभामुखको कठालो समात्न खोज्ने रामचन्द्रको धनुषामा भाग्य परीक्षा, कस्तो छ चुनावी गणित ?

कात्तिक २६, २०७४
सभामुखको कठालो समात्न खोज्ने रामचन्द्रको धनुषामा भाग्य परीक्षा, कस्तो छ चुनावी गणित ?

२६ कात्तिक जनकपुरधाम–धनुषाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता रामचन्द्र झाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । विगतमा पटक पटक प्रत्यक्षबाट सांसद भईसकेका झा दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट धनुषाको क्षेत्र नं.१ बाट पराजय भोगेका थिए । 


पहिलो संविधान सभामा एमालेबाट जितेका झा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भएका थिए । पछि एमाले छाडेर माओवादी गएका झा माओवादी समेत परित्याग गरी नयाँ शक्तिमा गएर स्थानीय तहको चुनाव अघि पुनः माओवादीमा फर्किएका थिए । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कृषिमन्त्री रामकृष्ण यादवसँग हुने अनुमान गरिएको छ । 


यादव पहिलो र दोस्रो संविधान सभामा धनुषा क्षेत्र नं. २ बाट लगातार सभाषद भएका थिए । दुवै पटक निरन्तर जित्न सफल भएका यादव तेस्रो पटक समेत ह्याट्रिक गर्ने उद्देश्यले चुनावी मैदानमा ओर्लिएका छन् ।
संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रमा प्रतिनिधि सभाका लागि उमाशंकर अरगरियाले उम्मेदवारी दर्ता गराएका छन् । फोरम लोकतान्त्रिकको दुई नं. प्रदेशका संयोजक समेत रहेका अरगरियाले चुनावको मुखैमा फोरममा प्रवेश गरेका हुन । 

विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेपछि अरगरिया सहित धनुषाको अधिकांश फोरम लोकतान्त्रिकका नेताहरु फोरममा प्रवेश गरेका थिए । दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट फोरम लोकतान्त्रिको टिकट लिएर प्रत्यक्ष निर्वाचनमा लडेपनि अरगरिया पराजित भएका थिए । 


रामचन्द्र झा जित्ने हुन वा होइनन् त्यो भने मंसिर २१ गते हुने निर्वाचन पछि प्रष्ट हुनेछ । तर, कम्युनिष्ट नेताका रुपमा स्थापित रामचन्द्र झा भने जित हुनेमा ढुक्क छन् ।


रामचन्द्र झाको राजनीतिक यात्रा


रामचन्द्र झा २०३१ साल देखि राजनीतिमा सक्रिय भएका हुन । खास गरेर ग्रामिण क्षेत्रमा वर्ग संघर्षको आन्दोलनबाट राजनीति करियर उनले सुरुवात गरेका हुन । त्यतिबेला कम्युनिष्ट पार्टीका जल्दो बल्दो नेता थिए सुर्यनाथ रान । त्यसपछि तत्कालिन माले कोओर्डिनेशन केन्द्रका राजनीतिमा स्थापित थिए योगेन्द्र साह । 


धनुषा निर्वाचन क्षेत्र नं.१ र २ मा ती दुवै जना कम्युनिष्ट नेताहरुले आफ्नो प्रभाव बढाईरहेका थिए । सोही क्रममा झा ती नेताहरुको सम्पर्कमा आए । त्यसपछि झाको गाउँ लगमामा संगठनात्मक गतिविधिहरु हुन थाल्यो । गाउँ देखि इलाका सम्मको संगठन बनाउन उनी लागि परे । 


२०३६ सालको जनमत संग्रहमा पनि झा क्रियाशिल भएर लागेका थिए । धनुषाको यदुकुहामा जनमत संग्रहमा बहुदलको पक्षमा भाषण गरेर उनी चर्चित भएका थिए । क्रमशः २०४६ सालमा संयूक्त जनआन्दोलनको घोषणा भएपछि आन्दोलनमा बाममोर्चाको तर्फबाट झालाई धनुषाको कमाण्डर नै नियुक्त गरिएको थियो । 


२०४६ सालको आन्दोलनमा उनी मालेसँग आवद्ध थिए । गाउँ कमिटि देखि इलाका कमिटि, क्षेत्रिय कमिटि हुँदै जिल्ला कमिटिसम्मको नेतृत्व गरेका झा एमालेमा जनकपुर अञ्चल कमिटीको इन्चार्ज समेत बनेका थिए । एमालेको राजनीतिमा उनी केन्द्रिय कमिटि हुँदै पोलिट व्यूरोसम्म पुगेका थिए । 


सदनमा लडाकु सांसदको रुपमा उदय


२०५१ को मध्यावधि चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार शिवधारी यादवलाई पराजित गरी पहिलो पटक उनी सदनमा पुग्न सफल भएका थिए । जिल्लाको स्थानीय राजनीतिमा आक्रामक, जुझारु तथा लडाकु नेताको रुपमा छवि बनाएका झाले सदनमा समेत जुझारुपन देखाएर एक आक्रामक नेताको रुपमा पहिचान बनाउन सफल भएका थिए । 

संसदमा सूर्यबहादुर थापामाथि हातपात !

२०५२ सालको असोज महिनामा तत्कालिन नेकपा एमालेका महासचिव मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव लगिएको थियो । कांग्रेसका तर्फबाट सभामुख रामचन्द्र पौडेल थिए । मतदानका लागि सबै ढोकाहरु बन्द गराइएको थियो । तर, सभामुख पौडेलले सुटुक्क पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका लागि ढोका खोलिदिए । 


स्थापित संसदीय मूल्य मान्यताले यसो गर्न मिल्दैन । त्यही भएर एमाले सांसद रामचन्द्र झा, निल बहादुर तिलिमा पुन लगायत ४÷५ जना सांसदहरुले थापाका लागि ढोका खोल्ने मर्यादापालकलाई  आक्रमण गरी थापालाई समेत हातपात गरेका थिए ।

झाका अनुसार नियम भनेको सबैको लागि बराबर हुन्छ । तर, कोही पुर्व प्रधानमन्त्री हुँदैमा नियम तोडेर उसको लागि ढोका खोल्न त हुँदैन । त्यसका लागि नै प्रतिवाद गरिएको थियो ।

सभामुख र मन्त्रीको कठालो समात्ने प्रयास !
 

अर्को प्रसङ्ग २०५५ सालतिरको हो । एमालेका अमृत कुमार बोहरा स्थानीय विकास मन्त्री भएको बेला स्थानीय निकाय स्वायत्त शासन ऐनमा एउटा राम्रो प्रावधान राखिएको थियो । उक्त ऐनमा स्थानीय निकायका पदाधिकारीले भ्रष्टाचार र जनविरोधी काम गरेको पाइएमा सम्वन्धित पार्टीको निर्णय सिफारिसमा  स्थानीय निकायका उक्त पदाधिकारीलाई पदबाट फिर्ता बोलाउन सकिने प्रावधान राखिएको थियो । स्थानीय निकायमा भ्रष्टाचार र जनविरोधी कार्य गर्नबाट स्थानीय पदाधिकारीलाई रोक्नका लागि उक्त व्यवस्था गरिएको थियो । जुन, धेरै राम्रो व्यवस्था थियो ।

तर, कांग्रेस र एमालेबाट फुटेर गएको मालेको सरकारले उक्त व्यवस्थालाई परिवर्तन गर्न सदनमा लगेको विधेयक जवरजस्ती पास गर्न खोज्दा झाले तत्कालिन सभामुख रामचन्द्र पौडेलको कठालो समातेर आसनबाट तान्न खोज्दा मनमोहन अधिकारीले रोकेका थिए । 

त्यतिबेला एमालेले ३१ दिन सम्म लगातार संसद अवरोध गरेका थिए । तत्कालिन मन्त्री राधाकृण मैनालीलाई समेत उनले सदनमा घोक्रेठ्याक लगाउँदै सभामुख माथि आक्रमण गरेका थिए । यद्यपि हो हल्लाकाबीच कांग्रेसले उक्त विधेयक संसदमा पास गरेको थियो । 

संसदमा झा अत्यन्त आक्रामक र सशक्त ढंगले प्रस्तुत भएका थिए । यति मात्र होइन त्यो बेलाको संसदमा तराई मधेसका सवालमा प्रश्नकालमा सबैभन्दा वढी प्रश्न गर्ने भुमिका पनि उनले अत्यन्त गम्भीरताका साथ उठाउने गरेका थिए । 
त्यसपछि उनी मिलिटेन्ट फोर्सबाट एउटा विकास पुरुषको छवि बनाउने तर्फ केन्द्रित भएका थिए । जसअनुसार उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष र स्थानीय विकास मन्त्री हुँदा धनुषाको विकासका लागि ठुलै पहल गरेका थिए ।  

२०३१ सालदेखि नै मोहनविक्रमले नेतृत्व गरेको चौथो महाधिवेशनमा आबद्ध झा २०३९ सालमा तत्कालीन नेकपा (माले) को सम्पर्कमा आएका थिए । 
२०४० सालमा उनी अध्ययन गर्न भागलपुर गए । त्यहाँ उनले समाजशास्त्रमा स्नाकोत्तर गरे । २०४५ सालमा त्रिवि सेवा आयोगमा परीक्षा दिए । लिखितमा पास भएर मौखिक परीक्षाको तयारी हुँदै थियो, जनआन्दोलनको तयारी चल्न थाल्यो । 

२०४६ सालभन्दा पहिलेदेखि नै कम्युनिष्टहरूको संसर्गमा रहे पनि उनले सक्रिय रूपमा राजनीतिचाहिँ २०४६ सालको आन्दोलनसँगै थालेका हुन् । 
२०४७ मा नेकपा एमाले गठनसँगै राजनीतिमा होमिएका उनी २०४८ को पहिलो संसदीय निर्वाचनमा धनुषाबाट सांसदका लागि भएको चुनावमा हारे । तर २०५१ को मध्यावधिमा चाहिं क्षेत्र नं २ बाट जिते । 
यस बीचमा उनी २०४९ सालको जिल्ला विकास समितिको चुनावमा धनुषामा सभापतिको उम्मेदवार भएका थिए, तर पराजित हुनुर्पयो । २०५६ मा पनि उनले चुनाव हारे । २०६४ को संविधासभा चुनावमा पुनः विजयी भए । संविधासभापछि बनेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्चको सरकारमा स्थानीय विकास मन्त्री भए ।

एमालेमा विद्रोह
 

नेकपा एमालेबाट राजनीतिक करियर सुरुवात गरेका उनी अन्ततः एमालेबाट पनि निस्कनु पर्यो । एउटा खास सम्प्रदायको प्रतिनिधित्व गर्ने पार्टीमा मात्रै रुपान्तरण हुने, मधेस, आदिवासी जनजाति, उपेक्षित वर्गहरुको प्रतिनिधित्व नै गराउन नखोज्ने गरेको आरोप लगाउदै रामचन्द्र एमाले पार्टी परित्याग गरी माओवादीमा लागेका थिए । 

तत्कालिन एमाले उपाध्यक्ष अशोक राईको अगुवाईमा एमाले परित्याग गरे पनि झा भने राईसँगै गएनन् । राईले संघीय समाजवादी पार्टी नै खोले भने झा केही दिन स्थिर बसेर माओवादीमा प्रवेश गरे ।
एमाले राजनीतिक मुद्दाका हिसाबले कमजोर हुँदै गएको र पार्टीभित्र विधि स्थापना र व्यक्ति व्यवस्थापन गर्ने कुरामा समेत चुक्दै जानु, संविधानका अन्तरवस्तु र राज्य पुनःसंरचनाका मुद्दामा एमाओवादी नजिक देखिनु,  हेटौंडा महाधिवेशनपछि एमाओवादीले प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्णरूपमा स्वीकारिसकेको अवस्थामा झा माओवादी प्रति आकर्षित भएको बताउछन् ।

नेकपा एमालेले एक हदसम्म उनलाई अवसर पनि नदिएको होइन तर निर्णायक तहसम्म भने लगेन । पोलिट व्यूरोसम्म मात्र राख्ने नीति निर्माण गर्ने तह स्थायी समिति वा पदाधिकारी सम्म नलगेपछि उनी असन्तुष्ट भएका थिए । पहिलो संविधानसभाको निर्वाचनका क्रममा मधेस मुद्दामा एमाले पार्टीको प्रवृतिले पार्टी परित्याग गर्न झन् ठुलो मद्दत गरेको उनी दावी गर्छन् । 

एमाओवादीमा पनि विद्रोह
 

नेकपा एमाले परित्याग गरेर एमाओवादीमा लागेका झा उक्त पार्टीमा पनि संतुष्ट हुन सकेनन् । खासगरी संगठनको सवालमा एमाओवादी भन्दा एमाले कै ठीक रहेको उनले महसुस गरे । 
हुन त उक्त पार्टी भित्र प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ गरी ३ वटा गुट रहेपनि उनी भने अध्यक्ष प्रचण्डकै खेमामा बसे । एमाओवादीमा आईसकेपछि उनको पार्टी भित्रको अन्तरसंघर्ष र आफ्नै क्षेत्रभित्रको अन्तर संघर्षका कारण दोस्रो संविधानसभाको चुनावमा आफ्नै पार्टीबाट श्रवण बरबरियाले बागी रुपमा उम्मेदवारी दिएपछि चुनावमा पराजित हुनु परेको थियो । 


अन्तर संघर्ष त एउटा कारण छँदै थियो तर उक्त चुनावमा मत पेटिका र मत पत्र नै विभिन्न चलखेल गरी परिवर्तन गरिएका कारण आफु पराजित हुनुपरेको झाको दावी छ । यद्यपि उनी पार्टी भित्र सक्रिय रहे । 
तर, एमाओवादीको महाधिवेशनमा उनलाई स्थायी कमिटि सदस्यमा नलगिएपछि उनी निराश भएका थिए । हुन त प्रचण्डले जसरी पनि झालाई स्थायी कमिटिमा ल्याउनुपर्छ भनेर निर्देशन जारी गरेपनि केही नेताहरुले धोका दिएपछि उनी पोलिटव्यूरोमा सिमित हुन पुगे । 


मधेसमा आन्दोलन भईरहेको, ४० जना भन्दा वढी मानिसले ज्यान गुमाईसकेको अवस्थामा पार्टीले दिपावली मनाउनु उनको लागि ठुलो धोका भएको ठहर गर्दैै बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउन तिर लागे । 
नयाँ शक्तिमा उनलाई सहसंयोजक बनाईयो । तर, उक्त पार्टीले पनि उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालसँग एकता नगरेपछि उनी नयाँ शक्ति परित्याग गर्दै पुनः माओवादी केन्द्रमा फर्किएका छन् । 
माओवादीले संविधान संशोधनको मुद्दालाई आत्मसाथ गरिसकेको हुनाले र सदनमा भोटिङ्ग हुँदा संशोधनको पक्षमा मतदान समेत गरेकाले माओवादीमा फर्किन झालाई कठिनाई भएन ।
 

salt training

कमेन्ट गर्नुहोस्