२९ जेठ २०८३, शुक्रबार

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

मंसिर १५, २०८१
काठमाडौं
ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

ओमानस्थित नेपाली राजदूतावासले शुक्रबार दूतावास परिसरमा नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, श्रमिकको सुरक्षाका निम्ति नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै आतिथ्य मुलुकको कानूनको पूर्ण परिपालना गर्न सम्बद्ध सबैमा आग्रह गरे ।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रियाबारे जानकारी दिए ।

कार्यक्रममा श्रम तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिइएको थियो ।

कार्यक्रमबाट दुई सय १५ जना सेवाग्राही लाभान्वित भएका राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाली राजदूतावास मस्कटबाट विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै निजहरूको सहजताका लागि सार्वजनिक बिदाकै दिनमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि विदेशमा भने सामाजिक सुरक्षासम्बन्धी सेवा पहिलोपटक आयोजना गरिएको हो ।

कमेन्ट गर्नुहोस्