२५ जेठ २०८३, सोमबार

कांग्रेस विवाद : कोशीमा प्रदेश सम्मेलनअघि पालिका सभापतिको भेला गर्दै शेखर समूह

मंसिर १५, २०८१
विराटनगर
कांग्रेस विवाद : कोशीमा प्रदेश सम्मेलनअघि पालिका सभापतिको भेला गर्दै शेखर समूह

नेपाली कांग्रेस कोशीको विवाद फेरि एकपटक सतहमा आएको छ । प्रदेश भेला अघि नै डा शेखर कोइराला समूहले पालिका सभापतिहरूको भेला बोलाएपछि कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको हो । 

नेपाली कांग्रेस कोशी प्रदेश समितिले यही मंसिर २२ गतेका लागि प्रदेश सम्मेलन तय गरेको छ । जसका बारेमा केही दिन पहिले पत्रकार सम्मेलन गरेर जानकारी समेत गराइएको छ । तर, शेखर समूहले त्यसअघि नै मंसिर  १८ र १९ गते नै विराटनगर र बेलबारीमा पालिका सभापतिहरूको भेला बोलाएको छ । 

सभापति भेलाको आयोजक मोरङका १७ वटै स्थानीय तह रहेको दाबी गरिएको छ । कार्यक्रमबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भने कोइराला समूहका नगर सभापतिहरू मात्रै उपस्थित थिए । विराटनगर महानगरका सभापति दीपक चापागाईं आयोजक समितिको संयोजक छन् । सहसंयोजकमा बेलबारीका सभापति छत्र लिम्बु रहेका छन् ।

पत्रकार सम्मेलनमा विराटनगरका सभापति चापागाईं, बेलबारीका सभापति छत्र लिम्बु, सुन्दरहरैचाका सभापति भक्ती प्रसाद सिटौला, कटहरिका सभापति रामकुमार कामत लगायतका नेता सहभागी थिए । उनीहरू सबै जना शेखर कोइराला समूहका हुन् । 

विराटनगर महानगरपालिकाका सभापति चापागाईंले भने यसलाई गुटको भेला मान्न तयार छैनन् । ‘यो गुटको भेला होइन,’ उनले भने, ‘शेखर कोइराला आउने भनेपछि त्यसरी हल्ला गरिएको हो । कांग्रेसलाई सुदृढ बनाउने योजना अन्तर्गत कार्यक्रम गर्न लागेका हौं ।’

उनका अनुसार महानगरका सबै सभापति र कोशी प्रदेशका १३७ वटै पालिकाका सभापतिलाई भेलामा बोलाइएको छ । 

बेलबारीका सभापति छत्र लिम्बुले देश सम्मेलनमा आफूहरूलाई बाइपास गर्न खोजिएको आरोप लगाए । उनले प्रदेश समितिले पुरै प्रतिनिधि नबोलाई सम्मेलन गर्न लागेको आरोप लगाए ।

कोइरालाको गृह प्रदेश समेत रहेको कोशीमा दुईवटै समूहले आ–आफ्ना गतिविधि बढाइरहेका छन् ।  सभापतिको भेलामा पनि इतर समूहका नेताहरूलाई मात्रै बोलाइएको एक नेताले बताए । 

‘महामन्त्री विश्व प्रकाश शर्मा लाई पनि बोलाइएको छैन भन्ने बुझेका छौं’, ती नेताले भने,  ‘शेखर, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे लगायतका नेताहरूलाई बोलाइएको रहेछ ।’

प्रदेश सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् भने सभापतिको भेलालाई नेता शेखर कोइरालाले सम्बोधन गर्ने तय भएको छ । 

नगर सभापतिहरूको भेलाको बारेमा भने प्रदेश समितिले उठाएको छ । उक्त भेलाबारे आधिकारिक जानकारी नभएको प्रदेश सभापति उद्धव थापाले बताए । प्रदेश सभापति थापा  नेता कृष्ण सिटौला पक्षका हुन् । 

‘हामीलाई आधिकारिक जानकारी केही पनि छैन’, उनले भने, ‘कार्यक्रम गर्ने भन्ने हल्ला चाहिँ सुनेको छु ।’

कोशी प्रदेश सरकारमा समेत इतर समूह सहभागी भएको छैन । प्रदेशमा संस्थापन पक्षसँग दबाब बढाउने रणनीति अनुसार पालिका सभापतिहरूको भेला गर्न लागिएको नेताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्