
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी शुरूआत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको एनपीएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जीत निकालेको थियो । कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जीत हासिल गर्न सहज भएको बताए । उनले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद शुरूआत गर्न सफल भएको बताए ।
त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले शुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गरे । उनले भने, 'पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ ।'
विराटनगरले दिएको एक सय २८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो ।
एनपीएलअन्तर्गत सोमबार दुई खेल हुनेछन् । बिहान ९:१५ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । त्यस्तै, दिउँसो १:१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ ।
स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपीएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।