
कास्कीको पोखरा महानगरपालिका-२४ कास्कीकोटका स्थानीयले खानेपानीको समस्या भोगेको धेरै भयो । समस्या समाधानका लागि ठोस पहल नहुँदा उनीहरूले खानेपानीका लागि भोग्नुपरेको पीडा भनिसाध्य छैन । उनीहरूले २० वर्ष पुरानो खानेपानी योजनाले काम चलाइरहेका छन् । जीर्ण भइसकेको योजना व्यवस्थित हुन सकेको छैन ।
४० किलोमिटर टाढाबाट ल्याएको पानी बीचबीचमा पाइप फुट्ने समस्या छ । सानोतिनो बजेटले समस्या समाधान नहुने स्थानीय हर्क बहादुर नेपालीले बताउँछन् । ‘बारम्बार पाइप फुट्छ । एकदिन फुट्यो भने कहाँ फुट्यो भनेर पत्ता लगाउनै एक हप्ता लाग्छ’, उनले भने ।
पुरानो योजना मात्र समस्या होइन । कास्कीकोटको आफ्नै खानेपानी मुहान छैन । यहाँ आउने पानी धम्पुसबाट ल्याइएको छ । मुहान भएका धम्पुसवासी कास्कीकोटलाई पानी पठाउन चाहँदैनन्, किनकी धम्पुसमा पानीको आवश्यकता बढेको छ । उनीहरूको आफ्नो माग पनि छ ।
धम्पुसवासीले 'एक घर, एक धारा' कार्यक्रम आफ्नो क्षेत्रमा पूरा भए मात्र पानी कास्कीकोट पठाउने बताउँछन् । बिग्रिरहने पानीको योजनाको मुहानमा जाँदा कास्कीकोटका स्थानीयले धम्पुसवासीबाट समस्या भोगेको अरोप लगाउँछन् ।
२०७४ फागुन ४ गते गण्डकी प्रदेशमा गठन भएको सरकारको निर्णय थियो ‘एक घर, एक धारा’ कार्यक्रम । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारले शुरूआत गरेको यो कार्यक्रमले हरेक वर्ष बजेट पाउँछ । वर्तमान सरकारले पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ । तर, नागरिकको समस्या ज्यूँ का त्यूँ छ ।
कास्कीकोटकी स्थानीयबासी गंगा गिरीले गण्डकीको खानेपानी योजना कार्यक्रममा प्रश्न गर्छिन् ।
‘मेरी आमाले बोकेको पानीको डोको म बोक्दै छु । एक घर एक धारा भन्छौं । हामी महानगरवासी हौं । तर, धारामा झर्ने पानी खै ?’, उनले प्रश्न गरिन्, ‘पानीको मुहानको लागि गयो, तथानाम गाली खाएर फर्किनुपर्छ ।’
कास्की ३ (ख) का सांसद प्रकाश बरालले स्थानीयले राखेका सबै समस्याको आफूले समाधानको उपाय निकाल्ने प्रतिबद्धता जाहेर गरे ।
‘मैले पनि अर्को ठाउँमा गएर भन्ने हो । आफैंले रातो कलमले सही गर्ने भए हजुरहरूले भनेको कुरा सबै यही वर्ष पूरा हुन्थे । तर, के हिम्मत छ भने यहाँहरूको सबैको साथबाट यो योजना पूरा हुन्छ’, उनले भने ।
प्रदेशको जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९५ प्रतिशत हाराहारी घरमा खानेपानी पुगेको छ । तर, सरकारको तथ्यांक र नागरिकको भोगाइ फरक छ।
गण्डकी प्रदेशका हरेक घरमा धारा पुर्याउने सरकारको कार्यक्रमले महानगरलाई समेट्न सकेको छैन । पोखरा महानगरपालिकाभित्र नै खानेपानीको समस्या छ । यो समस्या कास्कीकोट मात्र होइन । कास्कीकोटको तल रहेको फेवा फाँटका स्थानीयले पनि सोही समस्या भोग्नुपरेको छ ।
फेवाताल नजिकै रहेको खपौंदी क्षेत्रमा लगभग ९१ घरधूरीले पानीको हाहाकार भोग्नुपरिहेको छ । यस क्षेत्रमा दामोदारकुना मुहानबाट ल्याएको पानी खडेरीको समयमा सुक्छ । यी दुवै स्थानका नागरिकको आशा लौरुक योजनामा छ। खपौंदी, कास्कीकोट लगायत आसपासका स्थानमा खानेपानी समस्या समाधान गर्न सरकारले योजना अघि बढाएको छ । तीन वर्ष अघिदेखि शुरू भएको योजनाले अझै गति भने लिन सकेको छैन ।
कास्कीकोटमा खानेपानीको समस्या समाधानका लागि जनप्रतिनिधिले ठोस काम नगरेको स्थानीयको गुनासो छ। अघिल्ला र वर्तमान जनप्रतिनिधि उनीहरू सन्तुष्ट छैनन् । जनतप्रतिनिधिहरू स्टण्टबाजी गर्न मात्र कास्कीकोट पुग्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूको यही असन्तुष्टि मतमार्फत् व्यक्त हुने गरेको छ ।
खानेपानीको समस्या समाधान गर्न तदरुकता देखाएझैंगरी गण्डकी प्रदेशका तत्कालीन सांसद राजीव पहारी पाइप बोकेर कास्कीकोट पुगेका थिए । कास्की क्षेत्र नं ३ (ख) बाट २०७४ मा सांसद चुनिएका पहारीले सोही वर्षको पुस २५ गते पाइप हस्तान्तरण कार्यक्रम नै राखे । तर, पहारीको कार्यक्रम ‘स्टण्टबाजी’ मात्रै भयो । जसको साइडइफेक्टका रूपमा उनै पहारी दोस्रोपटक निर्वाचनमा उठ्दा जनताबाट अनुमोदित भएनन् ।