
चन्द्र गुरुङ
ससाना बच्चाहरू माटोमा खेलिरहेछन्
काठ र सिन्काका घरहरू छन्
माटोकै भांडाकुंडा, थाल–बटुको, बाल्टिन र डेक्चीहरू छन्
रमाएका छन् माटोकै खेलौनाहरूसँग ।
बच्चाहरू पानी खेलाउँदै छन्
पानीमाथि कागजको डुंगामा खुशी खियाइरहेछन्
लुछुप्पै पानीमा भिजेका छन्
आनन्द मान्दै छन् पानीको शीतलतामा ।
बच्चाहरू फूल टिप्दै छन्
कानमाथि, केशमा रंगबिरंगी फूल सिउरेका छन्
साथीसितको लडाई झगडा बिर्सिंदै
डूबेका छन् मुग्ध फूलहरूको सौन्दर्यमा ।
बच्चाहरू बूढाबूढीसित जिस्किँदै छन्
सँगसँगै उफ्रिँदै र नाच्दै छन्
यिनका अनुहारका मुजाहरूमा केही खोज्दै छन्
नियाल्दै छन् सेतो कपालको रहस्य ।
बच्चाहरू जून मन पराउँछन, र मामा भन्छन्
ताराहरूलाई आँखा झिम्काउँछन्
घामलाई हरेक बिहान खेल्न पर्खिरहन्छन्
बोटबिरुवासँग मस्त झुम्छन्
गीत गुनगुनाउँछन् चराचुरुङ्गीहरूसित ।
खेलिरहेका बच्चाहरू खुशी देखिन्छन्
जीवनको नजिक हुन्छन्
कुनै डर वा चिन्तादेखि धेरै पर पुग्छन्
रमाइरन्छन् यी बच्चाहरू एउटा छुट्टै संसारमा ।
यदि,
यी बच्चाहरूछेउ जानुहुन्छ तपाई
उनीहरू सशंकित हुन्छन्
उनीहरू डराउँछन्
उनीहरू चिच्याउँछन्
उनीहरू प्रतिकार गर्छन्
उनीहरू रुन्छन्
यस बखत
बच्चाहरू एउटा सुन्दर संसार जोगाउन खोज्छन्
छ जसलाई हामीबाट डर !