
गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१ मा संशोधन गरेको छ । योसँगै अति विशिष्ट र विशिष्ट (भीभीआईपी) विदेश भ्रमण जाँदा बिदाई र फर्किँदा स्वागतमा जाने विशिष्ट व्यक्तिहरुको तय भएको छ ।
कार्यविधि संशोधनले अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने राज्यका उच्च पदस्थ अधिकारीहरूको लर्कोमा अब कमी आउने छ ।
संशोधित कार्यविधिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अबदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ र स्वागतका लागि जान नपर्ने व्यवस्था गरिएको छ ।
विदेश भ्रमणको क्रममा हुने स्वागत तथा बिदाइ कार्यक्रमलाई भीडभाडरहित एवं छरितो बनाई व्यवस्थित गर्नु कार्यविधिमा संशोधन गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषीराम तिवारीले बताए ।
संशोधित कार्यविधि अनुसार अब राष्ट्रपति विदेश भ्रमणमा जाँदा र विदेश भ्रमणबाट फर्किँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शिष्टाचार महापाल मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।
यसअघि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सबै मन्त्री, सांसद, सचिवहरू, सुरक्षा निकायका पदाधिकारीहरूको भीड विमानस्थलमा लाग्दै आएको थियो ।
मन्त्रालयका अनुसार उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र स्वदेश फर्किँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुखलाई मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रवेश दिइने व्यवस्था संशोधित कार्यविधिमा छ ।
प्रधानमन्त्री विदेश जाँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।