०६ साउन २०८३, बुधबार

अमेरिकी अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

मंसिर १६, २०८१
काठमाडौं
अमेरिकी अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

 मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए  । मन्त्रिपरिषद् बैठकले संलग्न प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए । उक्त प्रस्तावमा हस्ताक्षर गर्ने अख्तियारी पनि अर्थ सचिवलाई नै दिइएको छ । 

संलग्न विकास योजना सन् २०२५ देखि सन् २०२९ सम्मको समझदारी पत्र पनि आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यसको हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए । यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिने बताइएको छ ।

नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्