
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले सभापतिहरूको भेला नरोक्ने भएको छ । शेखर पक्षका सभापतिहरूको भेला आजदेखि विराटनगरमा शुरू हुँदैछ।
दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन भेला उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा काठमाडौं, पोखरा, वीरगञ्ज, ललितपुर र भरतपुरका सभापतिहरूको पनि सहभागी हुने कोइराला पक्षले जनाएको छ ।
यसअघि सोमबार कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई परिपत्र गर्दै कुनै पनि कार्यक्रम नरहेको जनाएको थियो । कोइराला पक्षका विराटनगर सभापति दीपकचापागाईंले भने भेला रोक्नुपर्ने कुनै कारण नभएको बताए । केन्द्रले पत्रमार्फत् भेला रोक्नु नभनेको उनले बताए ।
केन्द्रीय समितिको कार्यक्रम नभएको विषय मात्रै पत्रमा उल्लेख गरिएकाले उनले बताए । भेलामा सहभागी हुन ११३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको उनले दाबी गरे । ‘हामीले गर्ने भनेको भेला निर्धारित समयमा हुन्छ । १ सय १३ पालिकाका सभापतिहरू आइसक्नु भएको छ,’ उनले भने । कोशी प्रदेशमा १३७ पालिका रहेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाएको पत्रको कुनै अर्थ नहुने उनले बताए । ‘केन्द्रीय कार्यालयको एक कर्मचारीले नेतालाई कन्ट्रोल गर्न खोजेको उनको आरोप छ । ‘उहाँको हैसियत कार्यालय सहयोगीजस्तो हो । पार्टीका महामन्त्रीहरूबाटै त्यस्तो पत्र आएको भए अर्कै कुरा हुनेथियो,’ चापागाईंले भने ।
कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो ।
त्यसअगाडि शेखर पक्षले भने मंसिर आज र भोलिका लागि प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।
कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागेको जनाएको छ ।
मंसिर २२ गते हुने प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । कोइराला पक्षले गर्ने भनेको भेलामा भने डा. शेखर कोइराला प्रमुख अतिथि हुने दाबी गरेको छ ।