
काठमाडौंको त्रिपुरेश्वरमा एक युवाले आत्मदाह प्रयासपछि दुखद् निधन भएको घटनाको घाउ निको नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको छ । काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा बस्दै आएका ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अप्रिय कदमको पछाडि पारिवारिक विवाद कारक देखिएको छ। राउतको केही समयअघि आफ्ना छोरासँग कुनै विषयलाई लिएर विवाद भएको खुलेको छ। शनिबार बिहान घरमा श्रीमती र छोरा नभएको मौका छोपेर उनले बिहान सवा ६ बजेतिर भान्सा कोठामा छिरेर आफैँमाथि तेल खन्याई आगो सल्काएको प्रहरीले जनाएको छ ।
भान्साबाट आगोको लप्का र धुवाँ निस्किएपछि परिवारका अन्य सदस्य र स्थानीयवासीले थाहा पाएर उनलाई उद्धार गरेका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगोबाट गम्भीर घाइते भएका राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।