
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । गैँडाकोट–३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाम हुनुका साथै वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको हो ।
गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरीमगरले भिरालो जमिनमा अम्रिसो खेती गर्ने किसानहरू बढ्दै गएका भन्दै यसले पहिरो रोकथाममा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
वडाका दमार, बसेनीलगायत स्थानका किसानले सिँचाइ अभाव भएका क्षेत्रमा वैकल्पिक रूपमा अम्रिसो खेती गरिरहेका छन् । 'सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती हुँदैन', उनले भने, 'अम्रिसो लगाएपछि खेती पनि हुने बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको हो ।'
अम्रिसो खेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडाध्यक्ष चितौरीमगरले जानकारी दिए । अम्रिसोमा मेहनत बढी नपर्ने र आम्दानी पनि हुने भएकाले पछिल्लो समय किसानको जीविकोपाजर्नमा वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको उनको भनाइ छ ।
'अम्रिसोबाट घर सफा गर्ने कुचो बनाएर बिक्री गरिने हुँदा बजारको अभाव छैन', वडाध्यक्ष चितौरीमगरले भने, 'नवलपुर बजार क्षेत्र, नारायणगढ, बुटवलका व्यापारीको सहयोगमा भारत र बङ्गलादेशसम्म यहाँको अम्रिसोको कुचो पुग्ने गरेको छ ।'
कृषक लेखबहादुर आलेले अम्रिसो खेतीबाट आएको आम्दानीले जीविकोपार्जनमा सहजता भएको बताए । सिँचाइ अभावले बारीमा खेतीबाली कम हुने भन्दै उनले अम्रिसो गाई बाख्रालाई घाँसका रूपमा प्रयोग हुनुका साथै फुलेपछि कुचो बिक्री गरेर आम्दानी लिन सकिने बताए ।
यहाँका पहाडी क्षेत्रमा अधिकांश किसानले अम्रिसोलाई आम्दानीको वैकल्पिक माध्यम बनाउने गरेका आलेले उल्लेख गरे । 'अम्रिसो खेतीमा हामीलाई दोहोरो फाइदा छ, पशु चौपायाका लागि घाँस खुवाउन पाइन्छ, कुचो बनाएर बेच्न पाइन्छ साथै पानी पर्दा माटो कटानसमेत रोकिन्छ', उनले भने, 'कुचो बिक्री गर्न पनि समस्या छैन, कसैले चामलसँग र कसैले पैसामा कुचो बिक्री गर्ने गरेका छौँ ।'
गैँडाकोट–१८ मा धानखेती नहुने भएकाले किसानले धानसँग कुचोसमेत साट्ने आलेको भनाइ छ । 'पहाडी क्षेत्रमा धानखेती कम हुन्छ । भएको खेतमा लगाएको धानले केही महिना मात्रै खान पुग्छ', उनले भने, 'यहाँका कतिपय किसानले सामूहिक रूपमा पनि अम्रिसो खेती गर्दै आएका छन् ।'
गैँडाकोट–३ भुजेल बस्तीका युगबहादुर सारुले वार्षिक ५० हजार बढीको अम्रिसो बिक्री हुँदै आएको बताए । 'घरमा आउनेलाई पैसामा बिक्री गर्छौं, गाउँतिर लिएर गयौँ भने धानसँग साटेर आउँछौँ', उनले भने, 'धान उब्जनी नभए पनि अम्रिसोसँग साटेर धान ल्याउन पाइन्छ ।'
गाउँको भिरालो जमिन अम्रिसो खेतीले भरिएको भन्दै सारुले अहिले अम्रिसो फुल्न शुरू भइसकेको जानकारी दिए । केही वर्ष अघिसम्म झाडीले भरिएका डाँडोमा अम्रिसोखेती शुरू भएपछि डाँडा पनि हरियाली भएका उनले उल्लेख गरे ।
गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको पहाडी क्षेत्रमा केही समुदायले कबुलियत वनमा अम्रिसोखेती गरिरहेका बताए । 'कतिले हामीमार्फत खेती गर्नुभएको छ, कति कृषकले सिधै सव डिभिजन वन कार्यालयमार्फत खेती गर्नुभएको छ', उनले भने, 'अन्नबाली नफल्ने भिरालो जमिनमा लगाइएको अम्रिसोबाट स्थानीयले आम्दानी गर्नुका साथै पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ ।'
अम्रिसोखेती गर्ने किसानलाई पालिकाले आर्थिक अनुदानका साथै प्राविधिक सहयोग गर्दै आएको शर्माले बताए। प्रत्येक वर्ष मनसुन शुरू हुने बेलामा अम्रिसोको बिरुवा लगाउने, मंसिर फूल्ने र चैतसम्म काटेर बजार पठाउने गरिएको उनले जानारी दिए ।
नगरपालिकासँगै सव डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको कृषि शाखा प्रमुख शर्माले बताए । प्रत्येक वर्ष पहाडी क्षेत्रमा अम्रिसो खेती गर्ने कृषक र क्षेत्रफल बढ्दै गएको उनको भनाइ छ ।