
गत साताको पहिलो कारोबारका दिन आइतबार २७४८.०५ को विन्दुमा खुलेको सेयर बजार साताको अन्तिम कारोबारका दिन २७३४.९३ विन्दुमा पुगेर बन्द भयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत साता १३.१२ अंकले घटेर बन्द भयो । साताभर दुई दिन परिसूचक दोहोरो अंकले बढ्यो भने, तीन दिन घट्यो । यो साता कुल ४५ अर्ब ३९ करोड रूपैयाँ सेयर खरिदबिक्री भएको छ । त्यस्तै, अघिल्लो साता (मंसिर २ देखि मंसिर १३ गते सम्म) नेप्से परिसूचक ६७.६१ अंकले बढेको थियो ।
गत साताको पहिलो दिन आइतबार ९.९ अंकले सेयर बजारमा गिरावट आए पनि विशाल बजार कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेर सर्किट लाग्यो । त्यस्तै, साताको दोस्रो दिन सोमबार पनि विशाल बजारको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लाग्यो । मंगलबार विशाल बजारको सेयर मूल्य साढे ६ प्रतिशतले बढ्यो । यसअघि नै गत साताको बुधबार (मंसिर ११ गते)देखि विशाल बजारको सेयर मूल्य निरन्तर बढिरहेको थियो ।
मंगलबार नै विशाल बजारको सेयरमा लगातार आइरहेको उछालमा चलखेल भएको हुनसक्ने भन्दै नेपाल धितोपत्र बोर्डले गत पत्राचार नै गर्नुपर्यो । धितोपत्र बोर्डले विशाल बजारको वित्तीय विवरणका साथै केही अन्य कागजात माग गरेको छ । कम्पनीको विवरण हेरेर थप काम कारबाही अगाडि बढाउने बोर्डको भनाइ छ । शुक्रबारसम्म धितोपत्र बोर्डमा विशाल बजारले माग गरेको विवरण नबुझाएको जनाइएको छ ।
साताको तेस्रो कारोबारका दिन बोर्डले विशाल बजार कम्पनीलाई पत्राचार गरेको भोलिपल्ट बुधबार विशाल बजारको सेयर मूल्य ९ प्रतिशतले घट्यो । र, साताको अन्तिम कारोबारका दिन ४.०५ प्रतिशतले घट्यो ।
साताभर विशाल बजार कम्पनीले सेयर बजारलाई हलचल गराएको सेयर सम्बन्धी जानकार नवराज दाहाल बताउँछन् । नेप्से परिसूचकलाई कति घटबढ गर्यो भनेर उल्लेख गर्न नसकिए पनि बढी सेयर मूल्य भएकोले विशाल बजारले नेप्सेलाई हलचल गर्नमा भूमिका खेलेको उनको उनको भनाइ छ ।
‘ठ्याक्कै कति प्रभाव पार्यो भनेर उल्लेख गर्न सकिन्न तर, सेयर मूल्य बढी भएकोले बजारमा हलचल भने पक्कै गरेको हो’, उनले भने ‘हाम्रो बजार केही हदसम्म मनोवैज्ञानिक रूपमा पनि प्रभावित हुने गरेको छ । त्यसले पनि हलचल गर्नमा भूमिका खेल्यो ।’
साताभर सेयर बजारमा देखिएको भन्दा बढी गिरावट आएको सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् । विशाल बजारको सेयर मूल्यमा आएको वृद्धिले मात्रै बजार बढेजस्तो देखिएको उनको भनाइ छ ।
‘यस साता सेयर बजार थोरै घटेजस्तो देखिएको छ । तर, वास्तवमा यो भन्दा निकै बढी घटेको छ’, उनले भने, ‘विशाल बजारको सेयर मूल्यमा निकै ठूलो उछाल आएको छ । जसले गर्दा अन्य कम्पनीहरूको सेयरमा आएको गिरावट कम देखिएको हो ।’
विशाल बजारको सेयरले हल्लाएको नेप्से
अघिल्लो साता (मंसिर ११ गते)नेपाल स्टक एक्सचेन्जमा एकै पटक ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकरण भए । त्यस दिन विशाल बजार कम्पनी लिमिटेडको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेप्सेमा सूचीकरण भयसँगै उक्त कम्पनीको सेयर संख्या ४ करोड १ लाख कित्ता पुग्यो ।
यति बेलासम्म बजार पुँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड थियो । तर, नेप्सेमा एकै पटक विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकरण भएसँगै उक्त कम्पनी बजार पुँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी बन्न पुग्यो ।
मंसिर १० गते विशाल बजारको सेयर मूल्य ४ हजार १७६ रूपैयाँमा बन्द भएको थियो । मंसिर ११ गते नेप्सेमा ९ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकरण भएकै दिन सेयर मूल्य बढेर ४ हजार ५ सय रूपैयाँमा बन्द भयो । यस दिन नेप्से परिसूचक ३३.४१ अंकले बढ्यो ।
त्यस्तै, मंसिर १२ गते विशाल बजारको सेयर मूल्य ४ हजार ९५० रूपैयाँ पुग्दा सेयर ३९.७० अंकले बढ्यो । त्यसैगरी गरी, मंसिर १३ गते विशाल बजारको सेयर मूल्य बढेर ५ हजार ४४५ रूपैयाँ पुग्दा सेयर बजार ८.३० अंकले घट्यो ।
मंसिर १६ गते विशाल बजारको सेयर मूल्य बढेर ५ हजार ९८९ रूपैयाँ पुग्दा परिसूचक ९.९९ अंकले घट्यो ।
मंसिर १७ गते यस कम्पनीको सेयर मूल्य बढेर ६ हजार ५८८.४ रूपैयाँ पुग्दा परिसूचक १९.९७ अंकले बढ्यो र १८ गते बढेर ७ हजार १५ रूपैयाँ पुग्दा परिसूचक १७.८० अंकले बढ्यो । अघिल्लो साताको मंगलबारदेखि गत साताको मंगलबारसम्म विशाल बजारको सेयर मूल्य ४ हजार १७६ रूपैयाँबाट ७ हजार १५ रूपैयाँ पुग्यो । ६ कारोबारमा विशाल बजारको सेयर मूल्य २ हजार ८३९ रूपैयाँले बढेको देखिन्छ ।
एकै पटक सबैभन्दा बढी बजार पुँजीकरण भएको विशाल बजारको सेयर कारोबारले बजार पुँजीकरण बढाउन र घटाउनमा ठूलो भूमिका खेलिरहेको लगानीकर्ताहरूले बताउँदै आएका छन् भने, नेप्से परिसूचकलाई पनि प्रभावित गरिरहेको उनीहरूको भनाइ छ ।
विशाल बजारको मात्रै बजार पुँजीकरण २ खर्ब ५५ अर्ब ५१ करोड रूपैयाँ माथि रहेको छ । जहाँ सेयर बजारको कुल बजार पुँजीकरण ४६ खर्ब ४३ अर्ब बढी रहेको छ । नेप्सेमा विशाल बजार कम्पनी लिमिटेडको कुल ४ करोड १ लाख कित्ता सेयर सूचीकरण भएका छन् । जसमध्ये सर्वसाधारण अर्थात् कारोबारमा ४ लाख १८ हजार ९६७ कित्ता मात्रै रहेका छन् । यसबाहेकका कारोबारमा नआएका सरकारको सेयर अर्थात् संस्थापक सेयर रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा विशाल बजारको खुद नाफा १४ करोड ७३ लाख रूपैयाँ रहेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा विशाल बजारको खुद नाफा १ अर्ब १४ करोड ६१ लाख रूपैयाँ पुग्यो । कम्पनीको खुद सम्पत्ति ५ अर्ब १७ करोड ११ लाख रूपैयाँ बराबरको रहेको छ ।
विशाल बजारको लेखापरीक्षण अन्तिम पटक आर्थिक वर्ष २०७५/७६ मा भएको थियो । त्यसयता वित्तीय विवरणका नै बुझाएको छैन ।