
कैलालीमा एक करोड रूपैयाँ बढीको सुनचाँदी र नगदसहित सुर्खेतका तीन जना व्यक्ति पक्राउ परेका छन् । भजनी नगरपालिका- ५ स्थित कौवाखेडा सीमा ईलाकाबाट एक करोड रूपैयाँ भन्दा बढीको सुन, चाँदी , नगद तथा अन्य सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका- १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले शनिबार साँझ नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रूपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रूपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रूपैयाँ, साउदी रियाल , विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीको लेप लगाएका भाँडाकुँडासहित नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।

बरामद गरिएको सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए ।