११ असार २०८३, बिहीबार

हेगमा बम विष्फोट : मृत्यु हुनेको संख्या ५ पुग्यो

मंसिर २३, २०८१
काठमाडौं
हेगमा बम विष्फोट : मृत्यु हुनेको संख्या ५ पुग्यो

डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्। 

थप मृतकहरूको खोजी कार्य जारी छ र नेदरल्यान्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको सङ्ख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन् । 

'अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरीर भग्नावशेषबाट निकालिएको छ,' द हेगका नगर प्रमुख जान भान जेनेनले भने ।

उनले थपे, 'विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीव्र पारेको छ । दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौं ।'

उद्धार गरिएका दुई जनाको अवस्था गम्भीर रहेको नगर प्रमुखले जानकारी दिए ।​ 

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्वीर देख्दा आफू स्तब्ध भएको बताएका छन् । राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै र मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गर्दै भने, 'व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजनहरू गुमाएकाप्रति हामी सहानुभूति व्यक्त गर्दछौं । 

यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो । विस्फोटबाट क्षति भएको तीन तले भवनको भुइँ तलामा पसल र माथि दुई आवासीय तल्ला थिए । 

विष्फोटको कारण बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार विष्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो ।

अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्