
पहिलो भारत-नेपाल पर्यटन सम्मेलन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको सम्मेलन मंगलबार काठमाडौंमा सम्पन्न भएको हो ।

भारत र नेपालबीच 'सर्किट टुरिजम' कार्यान्वयनलाई प्रोत्साहन र उत्तर प्रदेशको प्रयागराजमा 'महाकुम्भ २०२५' को प्रवर्द्धन गर्नेबारे कार्यक्रम केन्द्रित थियो ।
कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसँगै कार्यबाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत भारत रहेको बताएका थिए । बोर्डले भारत-नेपाल पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे उनले जानकारी दिएका थिए ।

राज्यमन्त्री चौधरीले नेपालको पर्यटनमा स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए ।

कार्यवाहक राजदूत श्रीवास्तवले भारत र नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिइरहेको भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराएका थिए ।
उनले नेपालका र भारतका छिमेकी राज्यमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धनमार्फत् भारत-नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर संयुक्त प्रयास गर्नु पर्नेमा जोड दिए ।

सम्मेलनमा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरको सहभागीता थियो ।
विशेषगरी स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरले दुवै देशका पर्यटकका लागि सम्भावित यात्रा योजनाबारे विचार विमर्श गरेका थिए ।