
अमेरिकाको हवाइ टापुको उत्तरपश्चिमी भागमा पर्ने मिडवे एटोला नेशनल वाइल्डलाइफ रिफ्युजमा विश्वकै जेष्ठ जंगली चरा मानिने ७४ वर्षीया लेसान एल्बाट्रोस ‘विज्डम’ले चार वर्षको अन्तरालमा पुनः अण्डा पार्न सफल भएको छ ।
अमेरिकी वन्यजन्तु संरक्षण विभागका अनुसार विज्डमले करिब ६० अण्डा पारिसकेको अनुमान गरिएको छ ।
सन् १९५६ मा पहिलो पटक भेटिएको र त्यतिबेलै ब्याण्ड लगाइएको विज्डम अहिले पनि प्रजनन प्रक्रियामा सक्रिय छ ।
यो प्रजातिका एल्बाट्रोसको औसत आयु ६८ वर्ष हुने भए पनि विज्डमले उमेरको हद पार गर्दै नयाँ इतिहास बनाएको हो ।
विज्डम र उसको जोडी 'अकेआकामाइ'ले सन् २००६ देखि लगातार मिडवे एटोला रिफ्युजमा अण्डा पार्दै आएका थिए । एल्बाट्रोसहरूले प्रायः जीवनभर एउटै जोडीसँग प्रजनन गर्छन् । तर, अकेआकामाइ केही वर्षयता हराएको छ । पुरानो जोडी फेला नपरेपछि विज्डमले हालै नयाँ साझेदारसँग अण्डा पार्ने प्रक्रिया अघि बढाएको हो ।
एल्बाट्रोसले वर्षमा एउटा मात्र अण्डा पार्छन् । अण्डा कोरल्न आमाबुवाले करिब दुई महिना पालैपालो जिम्मेवारी लिन्छन् । अण्डा कोरलेपछि जन्मेका बच्चा करिब पाँचदेखि छ महिनामा समुद्रतर्फ उड्छन् । आफ्नो जीवनको अधिकांश समय यी चराहरू समुद्रमा उडेर, माछाका अण्डा र स्क्विड खाँदै बिताउँछन् ।
मिडवे एटोला नेशनल वाइल्डलाइफ रिफ्युजका जीवविज्ञ जोनाथन प्लिस्नरले भनेका छन्, 'हामी आशावादी छौं कि यो अण्डाबाट चल्ला निस्कनेछ ।'
विज्डमले अहिलेसम्म करिब ३० चल्ला हुर्काइसकेको जनाइएको छ ।