
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रोमा विराटनगर किङ्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे शुरू हुनेछ ।
एनपीएलको आफ्नो अन्तिम खेलमा मैदान उत्रिँदा लुम्बिनी जीतसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । ६ खेल खेलिसकेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । तालिकाको सातौँ स्थानमा रहे पनि लुम्बिनीको खातामा दुई अंक मात्र छ । आजको खेलमा जीत निकाले लुम्बिनीले चार अंकसहित प्रतियोगिताको अन्त्य गर्नेछ ।
पाँच खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा कर्णालीले तीन खेलमा जीत र दुई खेलमा हारको नतिजा आत्मसात गरेको छ । लुम्बिनीलाई हराएर कर्णाली प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ ।
यसैगरी, प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित विराटनगरले चितवनविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
पाँच खेलमध्ये चारमा हार र एकमा जीत निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जीतसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । तालिकाको तेस्रो स्थानमा रहेको चितवनले पाँच खेलमा तीन जीतसहित ६ अंक जोडेको छ ।