
परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।
धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दूध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठवटा दुग्ध उत्पादन सहकारीमा आबद्ध र ४२ वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो ।
किसानलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चापकटरलगायत आधुनिक उपकरण उपलब्ध गराइएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिए । बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, सङ्घ र व्यक्तिगत फार्ममा आबद्ध किसानलाई गत असोजमा उक्त उपकरण उपलब्ध गराइएको उनको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रू ५९ लाख ७५ हजार पाँच सय लगानी गरेको छ ।
काठेखोला गाउँपालिका–८ लेखानीस्थित गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गुणाखर कँडेलले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि किसानल दूधको गुणस्तर बढाउन लागेको बताए । दूधको गुणस्तर बढेपछि उचित मूल्य पाउन थालेको उनको भनाइ छ । पहिले गाउँका किसानले उत्पादन गरेको दूधको गुणस्तर मापन गर्न निकै झण्झटिलो रहेको अहिले सहज बनेको अध्यक्ष कँडेलले बताए ।