२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

पेट्रोलको मूल्यवृद्धिदेखि पत्रकार महासंघ निर्वाचनको अन्तिम नतिजा सार्वजनिकसम्म

पुस १, २०८१
काठमाडौं
पेट्रोलको मूल्यवृद्धिदेखि पत्रकार महासंघ निर्वाचनको अन्तिम नतिजा सार्वजनिकसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम नतिजा घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गरेकी हुन् । 

 निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भएका छन् । 

यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार २९२, खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठ राज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।  निर्वाचनबाट अधिकांश पदमा सत्ता गठबन्धन निकट निर्मलाको प्यानल विजयी भएको हो । 
००००
प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । 

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्किएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
००००
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ ।

निगम सञ्चालक समितिको आइतबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । 

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ ।
००००
नेकपा एमालेले पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र तथा कुप्रचारको प्रतिवाद गर्दै निर्णय गरेको छ । पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प एमालेको छ । 

राष्ट्रिय कार्यशालाका निष्कर्ष सार्वजनिक गर्दै एमालेले नेतृत्वविरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्ने संकल्प गरेको हो ।
००००
मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनाविरुद्ध २२ करोड ४८ लाखको बिगो दाबी गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूलाई उक्त बिगो माग दाबी गरिएको हो ।

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको लिएको पाइएको उल्लेख गरिएको छ ।
००००
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित बागमतीको तीरमा आत्मदाह गरेकी कमला आचार्यको सुसाइड नोट भेटिएको छ । 
शनिबार भएको घटनाको घटनास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा आचार्यले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । उनले लेखेकी छिन्, ‘सरी बुढा ।’
००००
नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् । 
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
००००
विराटनगर किङ्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ सम्भावना जीवित राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा काठमाडौं १ विकेटले विजयी भयो । ११८ रनको लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा र्गयो ।
००००
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्राथमिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन पर्साद्वारा आइतबार पर्सामा आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले यस्तो बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्