
नेपालबाट राँगाभैंसीको मासु निर्यातका लागि नेपाली कम्पनी र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ र नेपाली अधिकारीबीच मासु निर्यात सम्बन्धी सम्झौता आदान-प्रदान भएको हो ।
नेपालबाट हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबीच सम्झौता भएको हो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीच मासु निर्यात सम्बन्धी प्रोटोकल सम्झौता नेपालको पशुजन्य उत्पादन व्यापार सहजीकरणमा कोशेढुङ्गाको रूपमा रहेको बताए ।
‘यस सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन दिएको छ। नेपालको हावापानी र भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट छ’, मन्त्री अधिकारीले भने ।
देशभित्र मात्र नभई विदेशी बजारमा समेत नेपाली मासु निर्यातको सम्भावना देखिनु राम्रो रहेको उनको भनाइ छ ।
मन्त्री अधिकारी पशुजन्य उत्पादनको गुणस्तर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘मासुको गुणस्तर उत्पादन हुने स्थानदेखि उपभोक्तासम्म कायम राख्न वैज्ञानिक आधारको पालना आवश्यक छ। सरकारले पशु रोग नियन्त्रण, जोनिङ विधि र, गुणस्तर प्रमाणीकरणका लागि ठोस कदम चालिरहेको छ’, मन्त्री अधिकारीले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेस्रो साता भएको चीन भ्रमणका क्रममा नेपालबाट सामु निर्यात सम्बन्धी समझदारी भएको थियो ।