
गाजा पट्टीमा विस्थापितहरूलाई आश्रय दिने एक विद्यालय र एक नागरिक सुरक्षा केन्द्रलाई लक्षित गरी गरिएको दुई इजरायली हवाई आक्रमणमा कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजास्थित स्वास्थ्य प्राधिकरणका एक अधिकारी मारवान अल-हम्सले खान युनिसस्थित विस्थापितहरूको आश्रयस्थल रहेको एक विद्यालयमा इजरायली हवाई आक्रमण हुँदा करिब २१ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएका छन् । उक्त आक्रमणमा अधिकांश महिला र बालबालिकासहित दर्जनौं घाइते भएका छन्।
यो विद्यालय नजिकको पूर्वी क्षेत्रमा रहेको संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)सँग सम्बन्धित छ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार, यस आक्रमणबारे इजरायली सेनाको तर्फबाट तत्काल कुनै टिप्पणी गरिएको छैन।
सूत्रहरूले जनाएका छन् कि मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको एउटा आपतकालीन चौकीलाई लक्षित गरी अर्को हवाई आक्रमण गरिएको थियो। उक्त घटनामा एक पत्रकारसहित नागरिक सुरक्षा टोलीका चार सदस्यको मृत्यु भएको छ।
गाजास्थित नागरिक सुरक्षा प्रवक्ता महमूद बसलले इजरायलले नागरिक सुरक्षा टोलीमाथि 'जघन्य अपराध' गरेको आरोप लगाए। उनले भने, ‘पीडितहरू आफ्नो मानवीय र राष्ट्रिय कर्तव्य पूरा गरिरहेका थिए।’
मृतकमध्ये अहमद अल-लौह नामका पत्रकार पनि रहेको उल्लेख छ। उनी कतारको अल जजिरा टेलिभिजनका लागि फोटोग्राफरका रूपमा काम गर्थे। तर, इजरायली सेनाले उनलाई गाजास्थित इस्लामिक जिहाद आन्दोलनको सैन्य अपरेटर भएको आरोप लगाएको छ।
इजरायली सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ कि नुसेरात शिविरमा रहेको एउटा स्थललाई लक्षित गरिएको थियो, जसलाई 'आतङ्ककारीहरूले' इजरायली सुरक्षा बल (आईडीएफ)विरुद्धका आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न प्रयोग गरेको बताइएको छ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि ठूला आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा सैन्य अभियान सुरु गरेको थियो। हमासको आक्रमणमा करिब १२०० मानिसको मृत्यु भएको थियो भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो। इजरायली आक्रमणले गाजा पट्टीमा ठूलो मात्रामा विनाश गरेको छ र हजारौं प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा भनेका छन, गाजा पट्टीमा जारी इजरायली आक्रमणमा ज्यान गुमाउने प्यालेस्टिनीहरूको संख्या ४४ हजार ९७६ पुगेको छ।