२६ जेठ २०८३, मंगलबार
अर्थतन्त्रको निराशाजनक तस्वीर

उद्योग बेचेर धमाधम विदेश पलायन

पुस ५, २०८१
बुटवल
उद्योग बेचेर धमाधम विदेश पलायन

बुटवलमा निकै चल्नेमध्येमा पर्थ्यो– सौर्य गार्मेन्ट उद्योग । बुटवल उपमहानगरपालिका–१३ स्थित गार्मेन्ट उद्योग बेचेर उद्योग सञ्चालक जमुना पोखरेल परिवारसहित ४ महिनाअघि विदेशिइन् ।

१ करोड रुपैयाँ लगानी गरी दर्जन बढी स्थानीयलाई रोजगारी दिएकी जमुना उद्योग बेचेर विदेशिएपछि धेरै उद्योगी-व्यवसायी आश्चर्यमा परे ।

उद्योगी-व्यवसायीलाई राज्यबाट हुने असहयोग र झञ्झटले टिक्न गाह्रो भएपछि सुरक्षित भविष्यको खोजीमा आफू यूके गएको उनले बताइन् ।

‘देशमा राम्रो सिस्टम भएन,’ च्याटमा जमुनाले भनिन्, ‘स्थानीय, प्रदेश र संघीय सरकार कोही पनि उद्योगमैत्री बनेनन् । देशको अस्थिरताले गर्दा कहिल्यै राम्रो वातावरण बन्ने नदेखेर विदेश हिँडियो । विदेश आएपछि सिस्टममा काम हुन्छ ।’

रुपन्देहीमा राम्रो चलेको कंक्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका मोहन गैरे पनि जापान गए । मोहन कंक्रिट ब्लक उद्योग बन्द गरी राम्रो अवसर र सुन्दर भविष्यको खोजीमा विदेशिएका हुन् ।

‘रुपन्देही देशकै धेरै र ठूला उद्योग सञ्चालनमा रहेको जिल्ला हो,’ च्याटमा गैरेले भने, ‘कहिले लोडसेडिङ, कहिले ट्रिपिङ, कहिले ट्रंकलाइनजस्ता अनेक समस्या भोग्न उद्योगीहरू बाध्य छन्, जसले गर्दा सहजरूपमा उद्योग सञ्चालन गर्ने वातावरण छैन, त्यही भएर उद्योग बेचेर विदेशिनुपर्‍यो ।’ 

रुपन्देहीकै उद्योगी रामचन्द्र पाण्डे दुर्गा भवानी स–मिल बन्द गरेर अमेरिका गए । देशमा आशातीत वातावरण नदेखेपछि आफू विदेश पलायन भएको उनी बताउँछन् । 

पछिल्लो समय युवा मात्र विदेशिएका छैनन्, उद्योग/व्यवसायको क्षेत्रमा प्रतिष्ठित सफल उद्योगीहरू पनि अनेक प्रक्रिया मिलाएर विदेशिन थालेका छन् ।

कोरोना महामारीयता आर्थिक मन्दी चुलिँदै गएपछि लुम्बिनी प्रदेशमा उद्योग बन्द हुने र उद्योगी–व्यवसायी विदेश पलायन हुने क्रम तीव्र बनेको छ ।

लुम्बिनीमा एक वर्षमा कति उद्योग भए बन्द ?

लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षमा साना, मझौला र ठूला उद्योग बन्द हुने क्रम तीव्र छ । तीन तहका सरकारले लगानीको वातावरण बनाएको बताए पनि उद्योग थपिनेभन्दा बन्द हुने क्रम बढ्दो छ ।

लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अनुसार रुपन्देहीमा ४०२, दाङमा ८७६, बाँकेमा ७४२, बर्दियामा ३६५, पाल्पामा ३६३, कपिलवस्तुमा ३४०, गुल्मीमा ३६३, पश्चिम नवलपरासीमा २५७, रोल्पामा १७४, प्यूठानमा ८३, अर्घाखाँचीमा ५२ र रूकुमपूर्वमा ५२ उद्योग बन्द भएको तथ्यांक छ । 

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग बन्द हुने क्रम बढेसँगै रोजगारीको समेत समस्या खड्किएको बताए । यहीँ केही गर्न राज्यले वातावरण मिलाउनुपर्ने उनको भनाइ छ । पूर्वाधारको क्षेत्रमा काम नहुँदा निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू ठप्पप्रायः भएको शर्माले बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बैंकको ब्याज, विभिन्न कर, भाडालगायत चालु खर्च धान्न नसकिएपछि कतिपय उद्योगी विदेशिने क्रम बढेको बताए । बैंकको ब्याज, दोहोरो/तेहेरो कर, कामदार अभाव, भाडा र चालु खर्च धान्न नसकेपछि व्यवसाय नै छाडेर अमेरिका, अस्ट्रेलिया, क्यानडा पलायन हुने क्रम बढेको सापकोटाको भनाइ छ । आर्थिक मन्दीपछि आम उपभोक्तासँग क्रयशक्ति नै कमजोर हुँदा यस्तो अवस्था आएको तर्क उनले गरे ।

लुम्बिनीमा लगानी आकर्षण गर्न खोजे पनि उपलब्धि सन्तोषजनक छैन । लुम्बिनी प्रदेश सरकारले उद्योगको संख्या बढाउन तथा नयाँ उद्यमी जन्माउनका लागि विभिन्न सहुलियतका कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै आएको छ ।

प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशमा नयाँ उद्यमीहरू जन्माउनका लागि मन्त्रालयले विभिन्न सहुलियतका कार्यक्रम गरिरहेको बताए । नवीकरण हुन बाँकी उद्योगलाई नवीकरण शुल्कमा ९५ प्रतिशत जरिवाना छुटको व्यवस्था छ । ‘नवीकरण हुन बाँकी उद्योगहरू वि.सं. २०८१ चैत मसान्तभित्रमा नवीकरण गर्न आएको खण्डमा भारी जरिवाना छुटको व्यवस्था गरिएको छ,’ मन्त्री न्यौपानेले भने ‘नवीकरण गर्दा लाग्ने जरिवानामा ९५ प्रतिशत छुटको व्यवस्था छ । यो छुटले उद्योगीहरूलाई उद्योग नवीकरणमा धेरै ठूलो सहुलियत मिलेको छ ।’ 

उद्योगीहरू विदेशिएपछि देशको खस्किँदो भविष्य

उद्योगीहरू मुलुकको अर्थतन्त्रका आधार स्तम्भ हुन् । 

उनीहरूले देशमा रोजगारी सिर्जना गर्दै स्थानीय उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछन् । तर, पछिल्ला वर्षहरूमा उद्योगीहरू विदेशिने प्रवृत्ति बढेको नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले बताए ।

‘नीतिगत अस्थिरता, बढ्दो कर भार, अनावश्यक झञ्झट, विद्युत् र कच्चा पदार्थको समस्या, सुरक्षाको अभाव, राजनीतिक अस्थिरता र विदेशमा अवसरको आकर्षणले गर्दा उद्योगीहरू विदेशिने क्रम बढेको छ,’ आलम भन्छन्, ‘सरकारले उद्योगमैत्री नीति बनाउन नसक्दा र पटक–पटक नियम परिवर्तन गर्दा उद्योगीहरू असहज महसुस गर्छन् । उद्योग सञ्चालन गर्दा भारी कर, भ्रष्टाचार र प्रशासनिक झञ्झटले उद्योगीहरू निराश छन् । पर्याप्त ऊर्जा आपूर्ति र गुणस्तरीय कच्चा पदार्थको अभावले उद्योग प्रभावित छन् ।’

विदेशी बजारमा राम्रो पूँजी लगानी, स्थिर नीति र उच्च प्रतिफलले उद्योगीहरूलाई तान्छ । राजनीतिक अस्थिरताले निजी सम्पत्तिको सुरक्षा, उद्योग सञ्चालनको दीर्घकालीन योजना तथा स्थायित्वमा अवरोध पुर्‍याउँछ ।

उद्योगी विदेशिँदा घट्यो रोजगारी, उत्पादनमा ह्रास

उद्योगीहरू पलायन हुँदा कामदारहरू बेरोजगार हुने क्रम बढेको छ । स्थानीय उत्पादन घट्दा आयातमा निर्भरता बढ्नुका साथै देशको व्यापार घाटा पनि बढिरहेको छ ।

उद्योगसँगै सीपयुक्त जनशक्ति र पूँजी पनि बाहिरिएको छ । विदेशी उत्पादनले स्थानीय बजार ओगट्ने क्रम बढेको छ ।

दीर्घकालीन, स्पष्ट र लगानी मैत्री नीति लागू गर्नुपर्ने, उद्योग क्षेत्रलाई प्रभाव पार्ने भ्रष्टाचार रोक्न प्रभावकारी कदम, पर्याप्त ऊर्जा, यातायात र कच्चा पदार्थको आपूर्तिमा सुधार गर्नुपर्ने, करको दर घटाएर सब्सिडी दिई उद्योग स्थापनामा सहजता, दीर्घकालीन स्थायित्व र सुरक्षा सुनिश्चित गर्न सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

‘उद्योगीहरूको विदेश पलायनले देशको अर्थतन्त्र र भविष्यलाई गम्भीर असर पार्न सक्छ,’ उनले भने, ‘यो रोक्न सरकार, निजी क्षेत्र र नागरिक समाजले साझा प्रयास गर्न आवश्यक छ । स्थिरता, पारदर्शिता र सम्मानले मात्र उद्योगीहरूलाई देशमै टिकाइराख्न सक्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्