
अमेरिकी कंग्रेसले नयाँ खर्च विधेयकमा सहमति जुटाउन नसक्दा सरकार आर्थिक शटडाउन हुने जोखिम बढेको छ ।
सभामुख माइक जोन्सनले प्रस्तावित गरेको तीन महिने अस्थायी कोष विस्तार गर्ने विधेयकले अमेरिकी कंग्रेसमा बहुमत जुटाउन नसकेपछि शटडाउन हुने सम्भावना बढेको हो ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कको दबाबमा रिपब्लिकन सांसदले नै यसको विपक्षमा मत दिएका थिए ।
यो योजना पारित गर्न दुई तिहाइ बहुमत आवश्यक थियो । तर ३८ रिपब्लिकनसहित अधिकांश डेमोक्र्याटले यसको विपक्षमा मतदान गरे । यसले सरकार चलाउने छोटो अवधिको कोष व्यवस्थापन असफल भएको छ ।
बिहीबार राति बसेको कंग्रेसको बैठकमा सभामुख जोन्सनले आपतकालीन राहतका लागि ११० अर्ब डलर, किसान सहायताका लागि ३० अर्ब डलरसँगै सांसदको तलब वृद्धि, विकास निर्माण र स्वास्थ्य सेवा सुधारका लागि पैसाको व्यवस्थापनबारे विधेयक पेश गरेका थिए ।
तर, यो विधेयक डेमोक्र्याटको नीतिअनुसार भएको भन्दै केही रिपब्लिकन सांसदले आलोचना गरे र विधेयक असफल भयो ।
यो घटनाले रिपब्लिकन पार्टी नै विभाजित रहेको प्रष्ट पारेको छ । सरकारी शटडाउन रोक्नका लागि कंग्रेसले अब तुरुन्त नयाँ सहमति खोज्नुपर्नेछ ।
सरकारले गर्ने खर्चको समयमै व्यवस्थापन गरिएन भने शनिबारदेखि अमेरिकामा सटडाउनमा हुनेछ । शटडाउनका क्रममा सरकारसँग खर्च गर्ने पैसाको अभाव हुनेछ । शटडाउनका बेला सरकारी कर्मचारी पनि बेतलबी बिदामा बस्नुपर्ने हुन्छ ।
त्यस्तै राष्ट्रिय सुरक्षा, स्वास्थ्य सेवा र आर्थिक गतिविधि जस्ता अत्यावश्यक काम गर्ने कर्मचारीले तलब पाउनेछैनन् । अधिकांश सरकारी सेवाहरू अवरुद्ध हुने जोखिम हुन्छ । शटडाउनले समग्रमा आर्थिक गतिविधि कमजोर पार्नेछ ।
यसअघि राष्ट्रपति जिम्मी कार्टरको कार्यकालमा ६ पटक शटडाउन भएको थियो । ट्रम्पको पहिलो कार्यकालमा केही घण्टा मात्रै शटडाउन भएको थियो ।
सबैभन्दा लामो शटडाउन २०१८ को डिसेम्बरदेखि २०१९ को जनवरीसम्म ट्रम्पकै कार्यकालमा अमेरिकाले भोगेको थियो ।