
सहकारी ठगी, सम्पत्ति शुद्धीकरणसहितका गम्भीर मुद्दामा रवि लामिछानेविरुद्ध पर्याप्त प्रमाण भेटिएको भनेर प्रहरीले दाबी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रक्षात्मक बनेको छ ।
संसदीय छानबिन विशेष समितिको कारबाही सिफारिसपछि भएको अनुसन्धानका क्रममा लामिछाने २ कात्तिकमा समातिएका थिए । त्यसपछि रास्वपाले केही समय अदालतको गेटदेखि हरेक सार्वजनिक स्थलमा विरोध प्रदर्शन गर्यो । तर, मुख्य नेतृत्व प्रमाणले घेरिँदा रास्वपा रक्षात्मक बन्दै गएको हो ।
विभिन्न सहकारीबाट गैरकानूनी रूपमा गोरखा मिडियामा आएको करोडौं रुपैयाँ अपचलनमा लामिछानेलाई समितिले दोषी देखाएको थियो । त्यसपछि सूर्यदर्शन सहकारीको ठगीमा छानबिन गर्न पक्राउ परेका रविमाथि शुरूमा कास्कीमा मात्रै अनुसन्धान चलेको थियो ।
तर, सहकारी ठगीमा बुटवल, काठमाडौं, वीरगञ्ज र चितवन सबैतिर रविविरुद्ध जाहेरी पर्यो । प्रहरीले उनलाई यसबीचमा जाहेरी परेका हरेकजसो जिल्ला घुमाएर अनुसन्धान सकेको छ । सहकारीसँगै सम्पत्ति शुद्धीकरणमा समेत लामिछानेमाथि गम्भीर अनुसन्धान सकिएर मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।
सन् २०१६ यता रवि र उनकी श्रीमती निकिताको नाममा १७ वटा बैंकमा २९ करोड रुपैयाँ कारोबार भएको विवरण सार्वजनिक भएको छ । गोरखा मिडियाको प्रबन्ध निर्देशक, रास्वपाको संस्थापक सभापतिबाहेक ठूलो व्यापार व्यवसायमा रवि संलग्न छैनन् । तर, सन २०१६ यता रवि र उनकी श्रीमतीको खातामा २९ करोड रुपैयाँ कारोबार भएको विवरण सार्वजनिक भइसकेको छ ।
सहकारीसँगै सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा लाग्ने भएपछि लामिछाने थप अप्ठ्यारोमा पर्न सक्ने भएका छन् । तर, रास्वपाले रविविरुद्ध कुनै बलियो प्रमाण नभेटिएको दाबी गर्दै आएको छ ।
रास्वपाका सह–महामन्त्री कबीन्द्र बुर्लाकोटी सभापति लामिछाने निर्दोष सावित हुने दाबी गर्छन् ।
‘अहिलेसम्मको अनुसन्धान र कानूनी अभ्यासमा रवि लामिछाने दोषी देखिने गरी प्रमाण फेला परेको छैन । मुद्दा प्रमाणविहीन बन्नेछ । अदालतमा गएपछि मुद्दा खारेज हुन सक्छ । नभए पनि सामान्य तारेखमा छाड्न सक्छ,’ बुर्लाकोटीले भने, ‘उहाँमाथि लागेका आरोपमा हाम्रो अभ्यासमा रहेका कानून आकर्षित हुने गरी गल्ती भएको छैन र उहाँ निर्दोष हुनुहुन्छ भन्नेमा रास्वपा प्रस्ट छ ।’
अनुसन्धानका क्रममा सभापति लामिछाने र उनकी श्रीमतीको खातामा देखिएको २९ करोड रुपैयाँ पनि ठूलो नभएको उनको दाबी छ । ‘उहाँ (लामिछाने)को परिवार व्यावसायिक हो । यस्तै सिलसिलामा सम्पत्ति खरिद गर्दा रकम आउने/जाने भएको हुन सक्छ, यो ठूलो कुरा होइन । हामी सामान्यको पनि दुई/चार करोड सम्पत्ति हुन सक्छ । यसैले उहाँको रकम त्यति ठूलो होइन । खातामा रहेको पैसा निकाल्ने, प्रयोग गर्ने र फेरि जम्मा गर्ने पटक–पटकको प्रक्रियामा भएको स्वाभाविक विषय हो भन्ने हाम्रो भनाइ छ ।’
छैनन् दबाबका कार्यक्रम र बैठक
रवि पक्राउ परेलगत्तै सिंगो पार्टी पदाधिकारी, केन्द्रीय समिति, संसदीय दल रविको बचाउमा उत्रिएको थियो । यस क्रममा पोखरा, बुटवल सबैतिर पुगेर शीर्ष नेताले विरोध प्रदर्शन गरेका थिए ।
काठमाडौंमा समेत रास्वपाले केही समय अगाडिसम्म दिनहुँजसो विरोध प्रदर्शनका कार्यक्रम राखेको थियो । तर, आफ्ना सभापतिले सहकारीको ऋण तिरेको विवरण र बैंकमा करोडौं रकम राखेको विषय बाहिर आएपछि रास्वपाले दबाबका कार्यक्रम गर्न छाडेको छ ।
सह–महामन्त्री बुर्लाकोटी पार्टी रक्षात्मक भन्दा पनि रणनीतिक बनेको बताउँछन् ।
‘हामीले सभापतिमाथि राजनीतिक प्रतिशोध साँधियो भन्दै आएका छौं । यसका लागि शुरूमा हामीले दबाबमूलक कार्यक्रम गर्यौं । तर, अहिले मुद्दा एउटा प्रक्रियामा प्रवेश गरेपछि विरोधका सार्वजनिक कार्यक्रम नराखेका हौं,’ बुर्लाकोटीले भने, ‘कार्यक्रम छाडेको होइन, रणनीति परिवर्तन गरेका हौं । पार्टीका जिल्ला भेला भइरहेका छन् । जागरण पैदा गर्ने काम भइरहेको छ । हाम्रो फरक मत राखिरहेका छौं ।’

पछिल्लो समय कुनै ठूला कार्यक्रम नराखिनुमा पार्टीमा कसले कमान्ड गर्ने भन्ने विवाद एउटा कारण रहेको बताइन्छ । रवि पक्राउ परेपछि उनले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेमध्ये कुनै एकलाई कार्यवाहक तोक्नुपर्नेमा अहिलेसम्म टार्दै आएका छन् ।
दुवैले आफू नै सिनियर रहेको भन्दै पार्टीपंक्ति परिचालन गर्न खोजेपछि रास्वपा अप्ठ्यारोमा परेको नेताहरू बताउँछन् । दुवैले कार्यवाहक हुन खोजेपछि रविले कुनै निर्णय नदिएको एक नेताले बताए ।
‘सभापतिमाथि अनुसन्धान भएपछि उहाँले एकजनालाई कार्यवाहक दिनुभएको भए एउटा विवाद साम्य हुन्थ्यो । तर, दुई उपसभापति नै कार्यवाहकको दाबेदारीमा लागेपछि कार्यवाहक तोकिएन,’ ती नेताले भने, ‘कार्यवाहक नतोक्दा अहिलेसम्म कुनै जटिलता नै आएको त छैन, तर पार्टीका बैठक, पोजिसन, कार्यक्रमजस्ता विषयमा प्रभाव परेको छ ।’
यही विवादले रवि पक्राउ परेपछि आन्दोलन गर्ने वा नगर्ने विषयमा समेत कुरा बाझिएको थियो ।
केही घण्टा पनि टिकेन फोटोको फन्डा
कास्की प्रहरीको हिरासतमा सुतेका रहेका रवि लामिछानेको फोटोको फन्डा पनि केही घण्टा नबित्दै सेलाएको छ । अभियन्ता एवं रविका समर्थक समेत रहेका डा. निकोलस भुसालले सार्वजनिक गरेको फोटोलाई रास्वपाले ठूलो इस्यु बनाउन खोजेको थियो । तर, रवि समर्थित व्यक्तिले नै कानूनविपरीत प्रहरीको कन्ट्रोल रूममै पुगेर फोटो खिचेको बाहिरिएको छ ।
फोटोमा रविलाई व्यवस्थित कोठामा राखिएको देख्न सकिन्छ । तर, अदालतमा मुद्दा दायर हुनुअघि रास्वपाका नेता/कार्यकर्ताले ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्नकै लागि फोटोको फन्डा ल्याएका थिए । लामिछानेलाई भेट्न जाने बहानामा समर्थकले फोटो खिचेर सार्वजनिक गरेपछि रास्वपा नै अप्ठ्यारोमा परेको छ ।
‘अनुसन्धानको क्रममा रहेका विषयलाई प्रहरीले नै मिडियाबाजी गरेर बढी भ्रम सिर्जना गर्न खोजिएको छ । नहुने सूचना मिडियालाई चुहाएर बदनाम गर्न खोजिएको छ,’ बुर्लाकोटीले भने, ‘हिरासतमा बसेको व्यक्तिको कुनै गोपनीयता नहुने गरी बेडरूममै सीसीटीभी राखेको विषय मानव अधिकारको हनन् हो । हामी यो विषयमा सांसदको अन्तर्राष्ट्रिय मञ्चमा अपिल गर्छौं ।’
राम्रो प्रोटोकलको व्यक्तिलाई राख्दा मात्रै होइन, अन्य सामान्य व्यक्तिलाई राख्दा पनि शयन कक्षमा देखिने गरी सीसीटीभी जोड्न नपाइने उनी बताउँछन् ।
अहिले रास्वपा फोटोको इस्युलाई डाइभर्ट गर्नमा केन्द्रित भएको छ ।
‘जिम्मेवार नेता हिरासतमा बस्दा पनि प्रहरीले गम्भीरतापूर्वक नलिँदा फोटो सार्वजनिक भएको छ । तर, हामीलाई नै एकोहोरो पेल्ने काम भएको छ । सरकारले आफ्नो काम इमान्दारितापूर्वक गरेको छैन,’ बुर्लाकोटीले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीबाट म्याद थपेर हिरासतमा राखेपछि सुरक्षाको हिसाबबाट संवेदनशील हुनुपर्थ्यो, तर लापरबाही देखियो ।’