
सन् २०१९ को तुलनामा सन् २०२२ मा नेपालमा वन क्षेत्र शून्य दशमलव ७५ प्रतिशतले बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा गरिएको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको हो ।
प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा करिब १९ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदी बगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा रहेका उल्लेख छ ।
सन् २०२२ मा नेपालमा ४६ दशमलव शून्य आठ प्रतिशत (६७ लाख ९७ हजार दुई सय ५७ हेक्टर) वन तथा वनबुट्यान क्षेत्र रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिए । सन् २०१९ मा उक्त क्षेत्र ४५ दशमलव ३३ प्रतिशत (६६ लाख ८६ हजार आठ सय २८ हेक्टर) रहेको थियो । सोही अवधिमा बनवुट्यान नेपालका सबै भौगोलिक क्षेत्रहरूमा घटेको थियो ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक डा केसीले वनबुट्यान र केही कृषियोग्य जमिन वनक्षेत्रमा रूपान्तरण भएको पाइएको जानकारी दिए ।