
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल प्रिमियर लिग (एनपीएल)ले शनिबार पहिलो विजेता पाउने छ । एनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् ।
दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । उपाधि महाभिडन्त मध्याह्न साढे १२ बजे शुरू हुनेछ । सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जितको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ ।
फाइनलअघि दुवै टीमका कप्तान आत्मविश्वासी देखिएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शत प्रतिशत योगदान दिने र उपाधि जित्ने विश्वास व्यक्त गरे ।
००००
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख जरिवाना तिराएको छ ।
कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनोसोका आधारमा अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो ।
००००
साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा शुक्रबार रिहा गरिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।
००००
सहकारी ठगी, सम्पत्ति शुद्धीकरणसहितका गम्भीर मुद्दामा रवि लामिछानेविरुद्ध पर्याप्त प्रमाण भेटिएको भनेर प्रहरीले दाबी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रक्षात्मक बनेको छ ।
संसदीय छानबिन विशेष समितिको कारबाही सिफारिसपछि भएको अनुसन्धानका क्रममा लामिछाने २ कात्तिकमा समातिएका थिए । त्यसपछि रास्वपाले केही समय अदालतको गेटदेखि हरेक सार्वजनिक स्थलमा विरोध प्रदर्शन गर्यो । तर, मुख्य नेतृत्व प्रमाणले घेरिँदा रास्वपा रक्षात्मक बन्दै गएको हो ।
विभिन्न सहकारीबाट गैरकानूनी रूपमा गोरखा मिडियामा आएको करोडौं रुपैयाँ अपचलनमा लामिछानेलाई समितिले दोषी देखाएको थियो । त्यसपछि सूर्यदर्शन सहकारीको ठगीमा छानबिन गर्न पक्राउ परेका रविमाथि शुरूमा कास्कीमा मात्रै अनुसन्धान चलेको थियो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको मिति तय गर्ने अपेक्षासहित भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाको दिल्ली भ्रमण खल्लो भएको छ ।
आरजुको अथक प्रयासका बाबजुद भारतको संस्थापन पक्षले उनलाई भेट्न इन्कार गरेको उच्च स्रोतले लोकान्तरलाई बतायो ।
विभिन्न युरोपेली मुलुकको भ्रमणपछि परराष्ट्र मन्त्री देउवा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी थिइन् ।
००००
नेपाल ब्याडमिन्टन संघको अवैध कार्यसमितिले राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिविना अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न लागेको छ ।
विधानअनुसार साधारण सभा गराउन नसकेर वैधता गुमाएको तदर्थ समितिका नेतृत्वकर्ता रामजीबहादुर श्रेष्ठले पुस ८ देखि ११ गतेसम्म योनेक्स सनराइज नेपाल च्यालेञ्ज प्रतियोगिता गर्न लागेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृति प्राप्त गरेको भनेर दाबी गर्दै आएका श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन ।
००००
प्रक्रिया प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिश गरेको छ ।
गुरागाईंलाई कारबाहीका लागि सिफारिश गर्ने निर्णय भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
सहसचिव गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गरेको महानगरले जनाएको छ ।
००००
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी भएको ठगी सम्बन्धमा १९ जनाविरुद्ध थप अभियोगमा मुद्दा दर्ता भएको छ ।
पहिले नै मुद्दा दर्ता भइसकेका १९ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा अर्को अभियोगमा मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले लोकान्तरलाई जानकारी दिइन् । रवि लामिछाने लगायतको हकमा भने आइतबार मुद्दा जानेछ ।
००००
सरकारी दस्तावेजमा माओवादी ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति माओवादी नेताहरू आक्रोशित बनेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले मंसिर २६ गते जनयुद्ध शब्द प्रयोग नगर्न आदेश गरेको थियो ।
बिहीबार सर्वोच्चको आदेश बाहिरिएसँगै माओवादी नेताहरू तरंगित बनेका हुन् । माओवादी उपमहासचिव जनार्दन शर्माले जनयुद्ध शब्दको प्रतिबन्ध लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
००००
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ ।
शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो ।