
महोत्तरीमा डाँका समूहले एक जनाको हत्या गरेको छ । डाका समूहले महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता सुवास बोहराले लोकान्तरलाई जानकारी दिए ।
हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् ।
उनका अनुसार आज बिहान ४ बजे ७/८ जनाको समूहमा आएको लुटेरा समूहले झाको हत्या गरेको हो ।
डाँकाले सुनका गहना र केही नगद लुटेर लगेको उनले बताए ।
घरमा झा र उनकी श्रीमती मात्रै बस्दै आएका थिए । छोराछोरी भने जनकपुरमा बस्ने गरेका छन् ।
घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट डीएसपीको नेतृत्वमा टोली खटाइएको उनले बताए ।