३२ असार २०८३, बिहीबार
सुनिताको सदन यात्रा

श्रवणविहीनको आवाज बनेकी सुनिता, अब बोल्नेछिन् ‘हाउस’मा

पुस ६, २०८१
पाेखरा
श्रवणविहीनको आवाज बनेकी सुनिता, अब बोल्नेछिन् ‘हाउस’मा

नीति निर्माणको तहमा पुगेकाबीच विचारको मतभेदले संसद्लाई रोचक बनाउँछ । एक हिसाबले भन्ने हो भने यी मतभेदको चर्काचर्कीले सदन तताउँछ । सदनले मतभेद मात्र देखाउँदैन । सदनमा हुने ‘ढ्यापढ्याप’ले विद्रोह पनि बोल्छ । 

चाहे त्यो ओसियानाको एउटा देशको सदनमा कागज च्यातेर गरेको विद्रोह होस् वा सदनमा श्रवणविहीन व्यक्ति  उभिएर होस् । संसारका कुना–कुनाबाट सामाजिक र राजनीतिक योगदानको प्रेरणादायी उदाहरण पाइन्छ । 

यस्तै उदाहरण हो, दक्षिण अफ्रिकाकी विल्मा न्युहाउट–ड्रुचेन, जो श्रवणविहीन भएर पनि १९९९ मा दक्षिण अफ्रिकाको संसद्‌‌मा निर्वाचित भएकी थिइन् । उनले अपांगता भएका समुदायको अधिकारका लागि राजनीतिमा ऐतिहासिक पाइला चालिन् । 

त्यस्तै, युरोपतिर हेर्ने हो भने, बेल्जियमकी हेल्गा स्टेभेन्सको नाम आउँछ । युरोपेली संसद्‌मा सदस्य बनेकी श्रवणविहीन हेल्गाले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि अविस्मरणीय योगदान दिइन् । उनीहरूको सदनमा उपस्थिति व्यक्तिगत वा क्षेत्रगत हिसाबमा मात्र थिएन । चाहे जून कुनामा होस् उनीहरू सदनमा उभिँदा अपांगता भएका प्रत्येक व्यक्तिको प्रतिनिधित्व गरेका थिए । 

यस्तै, इतिहास र प्रेरणा गण्डकीको सदनमा लेखिएको छ । गण्डकी प्रदेश सांसद विमला गौचन थकालीको निधन भएपछि रिक्त रहेको समानुपातिकतर्फको पदमा नेपाली कांग्रेसले सुनिता थापालाई रोज्यो । थापाले २८ मंसिरमा सांसद पदको शपथ लिएकी छिन् ।

श्रवणशक्ति नभएकी थापाको सदनसम्मको यात्रा सहज छैन । तर, प्रेरणादायी भने पक्कै छ । जनजाती महिला, त्यसमा पनि अपांगता, उनले भोग्नुपरेको चुनौती एकमात्र होइन । तरपनि यी समस्यालाई छिचोल्दै अपांगता भएको व्यक्तिको प्रतिनिधित्व गर्ने गरि सदनमा उभिँदै छन् । 

सदनसम्मको यात्रा 
विद्यालयमा अब्बल विद्यार्थीको रूपमा चिनिन्थिन् सुनिता । चापाकोट स्याङ्जामा जन्मिएकी सुनिताले स्वास्थ्य क्षेत्रमा काम गर्ने सपना बोकेर गाउँ नजिकैको विद्यालयमा पढिरहेकी थिइन् । कक्षामा अब्बल रहेकी विद्यार्थी एक्कासी फेल भइन् । त्यसपछि सबैको ध्यान पुग्यो उनमा । उनले बारम्बार भनिरहेको कुरा विश्वास गरे सबैले । आफूले कान सुन्न छोडेको सुनाउँदा शुरूआतमा कसैले पत्याएका थिएनन् । १२ वर्षको उमेरमा टाइफाइडले ग्रसित भएपछि उनको श्रवणशक्ति गुमेको थियो ।

‘त्यो समयमा आफ्नो अभिभावक, शिक्षक सबैलाई भनेँ । एक्कासी कान नसुन्ने भएँ । तर, कसैले पनि विश्वास गर्नुभएन । नसुनेपनि मैले सुनेँ भन्ने अवस्था थियो । होइन होला, सुन्यो होला, नाटक गरि भन्ने कुरा आउँथ्यो’, दोभाषेको सहयोगमा उनले आफ्नो विगत सुनाइन् । श्रवण गुमाएपनि उनी बोल्न सक्छिन् । यद्यपि, संवादका लागि दोभाषेकै सहारा लिन्छिन् ।

null

एक्कासी भएको परिवर्तनसँग लड्दै उनले गाउँकै विद्यालयमा १० सम्म पढिन् । सांकेतिक भाषाबाट पढाई हुन्थेन । गाहे हुन्थ्यो । तैपनि कक्षा १० उत्तीर्ण गरिन् । डाक्टर बन्ने सपना बोकेकी उनले घर नजिकैको डाक्टर काकालाई रहर सुनाइन् । 

ती डाक्टरको कुराले उनको सपना तुहियो । तर, उनै डाक्टरले भविष्यको बाटो देखाइदिए । पोखरामा रहेको सिर्जन बहिरा विद्यालयबारे जानकारी दिए । परिवारले विद्यालयमा सम्पर्क गर्‍यो । शिक्षक समेत रहेका सुनिताका बाबाले छोरीलाई पढाउन पोखराको विद्यालयमा होस्टल राखे । त्यहीँबाट उनको जीवनको अध्यायले एउटा मोड लियो । सांकेतिक भाषा सिकिन् । पढाइ पनि निरन्तरता दिइन् । ३१ वर्षकी सुनिताले स्नातक तह सकेकी छिन् । यद्यपि, उनले मनको गरेको विषय भने पढ्न नपाउँदाको थकथकी कायम नै छ । 

‘पढ्न मन थियो । पढ्ने चाहना हुँदा हुँदैपनि पाइएन । स्वास्थ्य विषय पढ्न मन थियो तर, शिक्षा मात्र रोज्न पाउने बाध्यकारी अवस्था छ । सरकारले शिक्षा विषयमा मात्र सांकेतिक रुपमा पढ्न सुविधा दिएको छ’, उनले भनिन् । 

राजनीतिक शुरूआत

सानैदेखि पढ्न अब्बल सुनिता निडर पनि थिइन् । बोल्नुपर्छ भन्ने ढृढता थियो उनमा । त्यसैले अनेकौं समस्याका बाबजुद सधैँ अगाडि रहिन् । आफ्नो विचार स्पष्ट सबैका अगाडि राख्ने बाटो खोजिन् ।  

अपांगताको क्षेत्रमा काम गर्दै गर्दा उनी जापान जाने मौका मिल्यो । जापानको यात्राले नेपालमा उनको यात्राको मोड बदलियो । अपांगता भएका व्यक्तिहरूका लागि जापानमा रहेको कानून र सुविधाले प्रभावित भएकी थिइन् ।

जापानमा रहेको अपांगतामैत्री संरचना र कानूनी सहजता उनले नेपालमा खोजिन् । उता देखेको, बुझेको, सिकेको र जानेका विषय आफ्नो गाउँठाउँमा कसरी प्रयोगमा ल्याउन सकिन्छ उनको विचारमा आयो । त्यही विचार लिएर उनी अगाडि पनि बढिन् । तर, बाटोमा आएको अवरोधले उनलाई राजनीतितर्फ डोर्‍यायो । 

‘राजनीतिक विषयका कारण मलाई अप्ठ्यारो चुनौती आयो । केही गर्न पर्‍यो, राजनीति चाहियो । काम गर्ने सिलसिलामा धेरै यस्तो विषयले काम गर्न गाह्रो भयो । त्यसपछि राजनीति प्रवेश गर्नैपर्ने रहेछ । राजनीति आवश्यक रहेछ भन्ने लाग्यो’, सुनिता भन्छिन् ।

उनी अधिकार र कानूनका लागि बारम्बार धाएकी थिइन् । सबैले ‘हुन्छ’को आश्वासन दिन्थे । कार्यान्वयनमा कसैको ध्यान हुँदैन्थ्यो । राज्यको यही व्यवहारले उनलाई राजनीतिमा आउन बल दियो । अपांगता भएका व्यक्तिको आवाज बन्न राजनीतिमा प्रवेश गर्दा उनलाई उस्तै चुनौती थियो । शुरूआति समयमा सञ्चारको समस्याले उनलाई अप्ठ्यारो पार्‍यो। 

‘मलाई सञ्चारमा चुनौती आयो । कार्यक्रम गर्नुपर्‍यो, दोभाषे हुनुहुन्थेन । केही कुरा गर्नुपर्‍यो । मैले त्यहाँ भएका कुरा सुन्न पाउँदिनथेँ । कुरा बुझ्न पाउँदिन्थेँ’, उनले भने । 

अपांगता त्यसमा पनि जनजाति महिला । उनी यी तीन कुरालाई चिरेर अगाडि बढिरहिन् । राजनीतिमा लागेको आठ/वर्ष भयो । यो अवधिमा उनले कयैन् अवरोध चिरेर सदनसम्म आएकी छिन् । 

‘अपांगताभित्र पनि महिला विभेद त गरिन्छ नि । महिला अपांगता भनेर पनि कहिल्यै पनि चुप लागेर बसिनँ । जुन समयमा पनि पुरुष बराबरकै सहभागिता गरेँ । म महिला हो, विभेद गर्‍यो भनेर चुप लागेर बस्ने मान्छे होइन । हिम्मत गरेँ । लड्ने कोसिस गरेँ’, सुनिता सुनाउँछिन् । 

अपांगताको क्षेत्रमा काम गरिरहेकी सुनिता आफूमा जिम्मेवारी थपिएको बताउँछिन् । मैत्रीपूर्ण पूर्वाधारदेखि लाइसेन्स, रोजगारीको विषयमा आवाज उठाउने उनको योजना छ । उनले नजरअन्दाज गरिएका समस्यालाई केलाएर सुल्झाउने बताउँछिन् । 

श्रवणविहीन भएपनि अपांगताको हकअधिकारका लागि आवाज उठाएकी सुनिता सशक्त सुनिन्छन् । मैत्रीपूर्ण संरचना, शिक्षा, स्वास्थ्य यी सबै अधिकार नागरिकले पाउनुपर्ने आधारभूत आवश्यकता हो । सुनिता यसमा बलियोगरि जोड दिन्छिन् । 

‘हामी बराबर काम गर्न सक्छौँ । मैत्रीपूर्ण अपांगता अनुकूल व्यवहार होस् । नीति नियम बनोस् । अरु सेवा सुविधा, शिक्षा, स्वास्थ्य रोजगारी पाउने माग पटकपटक भन्दापनि पूरा हुँदैन । यसमा हाम्रो अधिकार छ । तर, यसमा सरकारको बुझाइ पुगेन’, सुनिताले थपिन् । 

 गण्डकीको सांसद बनेकी सुनिताले यो अवसरलाई चुनौतीको रूपमा लिएको बताइन् । 

‘पहिलाभन्दा धेरै जिम्मेवारी थपिएको छ । अपांगता क्षेत्रको प्रतिनिधित्व गर्छु । जनजाती महिला । विभिन्न वर्गको प्रतिनिधित्व गर्छु । म बहिरा व्यक्ति हुँ । अपांगता भएका व्यक्तिहरूका लागि धेरै ठाउँमा माग्न जाने व्यक्ति हो म । अहिले सरकारको ठाउँमा छु’, उनले भनिन् । 

सुनिता यहाँसम्म आइपुग्नुमा शिक्षाको योगदान छ । परिवारले सुनिताको शिक्षामा सँधै साथ दियो । परिवारबाट उनले कहिल्यै असहजता भोग्नुपरेन । उल्टो प्रोत्सहान मिल्थ्यो । के गर्छस् साथ छ भन्थे । तर, समाज भने उनलाई विभिन्न वाणले हिर्काउँथ्यो । 

‘बहिरा व्यक्ति कान सुन्दैन । भविष्य के होला । बिहे होला कि नहोला यस्तै भन्थे । हेप्ने व्यवहार गर्थे’, सुनिताले भनिन् । 

समाजको वचनलाई सुनिताले मिहिनेत र लगनशिलताले जवाफ दिइन्। केही गर्न सक्दिनँ भन्ने समाजको अघि आज सुनिता आफ्नो समुदायको प्रतिनिधित्व गर्दै सदनमा उभिँदै छिन् ।

‘अहिले हेर्दा नीति नियम जुन छ नि कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्ने कोसिसमा जान्छु । कामहरू धेरै छन्। पहिलो भनेको बहिरा अपांगता भएका व्यक्तिहरूको लाइसेन्सका कुरा हो । अपांगता भएका व्यक्तिलाई अनुकूल हुने काम गर्ने कोसिस गर्छु’, सुनिताले आफ्ना योजना सुनाइन् । 

salt training

कमेन्ट गर्नुहोस्