
नीति निर्माणको तहमा पुगेकाबीच विचारको मतभेदले संसद्लाई रोचक बनाउँछ । एक हिसाबले भन्ने हो भने यी मतभेदको चर्काचर्कीले सदन तताउँछ । सदनले मतभेद मात्र देखाउँदैन । सदनमा हुने ‘ढ्यापढ्याप’ले विद्रोह पनि बोल्छ ।
चाहे त्यो ओसियानाको एउटा देशको सदनमा कागज च्यातेर गरेको विद्रोह होस् वा सदनमा श्रवणविहीन व्यक्ति उभिएर होस् । संसारका कुना–कुनाबाट सामाजिक र राजनीतिक योगदानको प्रेरणादायी उदाहरण पाइन्छ ।
यस्तै उदाहरण हो, दक्षिण अफ्रिकाकी विल्मा न्युहाउट–ड्रुचेन, जो श्रवणविहीन भएर पनि १९९९ मा दक्षिण अफ्रिकाको संसद्मा निर्वाचित भएकी थिइन् । उनले अपांगता भएका समुदायको अधिकारका लागि राजनीतिमा ऐतिहासिक पाइला चालिन् ।
त्यस्तै, युरोपतिर हेर्ने हो भने, बेल्जियमकी हेल्गा स्टेभेन्सको नाम आउँछ । युरोपेली संसद्मा सदस्य बनेकी श्रवणविहीन हेल्गाले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि अविस्मरणीय योगदान दिइन् । उनीहरूको सदनमा उपस्थिति व्यक्तिगत वा क्षेत्रगत हिसाबमा मात्र थिएन । चाहे जून कुनामा होस् उनीहरू सदनमा उभिँदा अपांगता भएका प्रत्येक व्यक्तिको प्रतिनिधित्व गरेका थिए ।
यस्तै, इतिहास र प्रेरणा गण्डकीको सदनमा लेखिएको छ । गण्डकी प्रदेश सांसद विमला गौचन थकालीको निधन भएपछि रिक्त रहेको समानुपातिकतर्फको पदमा नेपाली कांग्रेसले सुनिता थापालाई रोज्यो । थापाले २८ मंसिरमा सांसद पदको शपथ लिएकी छिन् ।
श्रवणशक्ति नभएकी थापाको सदनसम्मको यात्रा सहज छैन । तर, प्रेरणादायी भने पक्कै छ । जनजाती महिला, त्यसमा पनि अपांगता, उनले भोग्नुपरेको चुनौती एकमात्र होइन । तरपनि यी समस्यालाई छिचोल्दै अपांगता भएको व्यक्तिको प्रतिनिधित्व गर्ने गरि सदनमा उभिँदै छन् ।
सदनसम्मको यात्रा
विद्यालयमा अब्बल विद्यार्थीको रूपमा चिनिन्थिन् सुनिता । चापाकोट स्याङ्जामा जन्मिएकी सुनिताले स्वास्थ्य क्षेत्रमा काम गर्ने सपना बोकेर गाउँ नजिकैको विद्यालयमा पढिरहेकी थिइन् । कक्षामा अब्बल रहेकी विद्यार्थी एक्कासी फेल भइन् । त्यसपछि सबैको ध्यान पुग्यो उनमा । उनले बारम्बार भनिरहेको कुरा विश्वास गरे सबैले । आफूले कान सुन्न छोडेको सुनाउँदा शुरूआतमा कसैले पत्याएका थिएनन् । १२ वर्षको उमेरमा टाइफाइडले ग्रसित भएपछि उनको श्रवणशक्ति गुमेको थियो ।
‘त्यो समयमा आफ्नो अभिभावक, शिक्षक सबैलाई भनेँ । एक्कासी कान नसुन्ने भएँ । तर, कसैले पनि विश्वास गर्नुभएन । नसुनेपनि मैले सुनेँ भन्ने अवस्था थियो । होइन होला, सुन्यो होला, नाटक गरि भन्ने कुरा आउँथ्यो’, दोभाषेको सहयोगमा उनले आफ्नो विगत सुनाइन् । श्रवण गुमाएपनि उनी बोल्न सक्छिन् । यद्यपि, संवादका लागि दोभाषेकै सहारा लिन्छिन् ।

एक्कासी भएको परिवर्तनसँग लड्दै उनले गाउँकै विद्यालयमा १० सम्म पढिन् । सांकेतिक भाषाबाट पढाई हुन्थेन । गाहे हुन्थ्यो । तैपनि कक्षा १० उत्तीर्ण गरिन् । डाक्टर बन्ने सपना बोकेकी उनले घर नजिकैको डाक्टर काकालाई रहर सुनाइन् ।
ती डाक्टरको कुराले उनको सपना तुहियो । तर, उनै डाक्टरले भविष्यको बाटो देखाइदिए । पोखरामा रहेको सिर्जन बहिरा विद्यालयबारे जानकारी दिए । परिवारले विद्यालयमा सम्पर्क गर्यो । शिक्षक समेत रहेका सुनिताका बाबाले छोरीलाई पढाउन पोखराको विद्यालयमा होस्टल राखे । त्यहीँबाट उनको जीवनको अध्यायले एउटा मोड लियो । सांकेतिक भाषा सिकिन् । पढाइ पनि निरन्तरता दिइन् । ३१ वर्षकी सुनिताले स्नातक तह सकेकी छिन् । यद्यपि, उनले मनको गरेको विषय भने पढ्न नपाउँदाको थकथकी कायम नै छ ।
‘पढ्न मन थियो । पढ्ने चाहना हुँदा हुँदैपनि पाइएन । स्वास्थ्य विषय पढ्न मन थियो तर, शिक्षा मात्र रोज्न पाउने बाध्यकारी अवस्था छ । सरकारले शिक्षा विषयमा मात्र सांकेतिक रुपमा पढ्न सुविधा दिएको छ’, उनले भनिन् ।
राजनीतिक शुरूआत
सानैदेखि पढ्न अब्बल सुनिता निडर पनि थिइन् । बोल्नुपर्छ भन्ने ढृढता थियो उनमा । त्यसैले अनेकौं समस्याका बाबजुद सधैँ अगाडि रहिन् । आफ्नो विचार स्पष्ट सबैका अगाडि राख्ने बाटो खोजिन् ।
अपांगताको क्षेत्रमा काम गर्दै गर्दा उनी जापान जाने मौका मिल्यो । जापानको यात्राले नेपालमा उनको यात्राको मोड बदलियो । अपांगता भएका व्यक्तिहरूका लागि जापानमा रहेको कानून र सुविधाले प्रभावित भएकी थिइन् ।
जापानमा रहेको अपांगतामैत्री संरचना र कानूनी सहजता उनले नेपालमा खोजिन् । उता देखेको, बुझेको, सिकेको र जानेका विषय आफ्नो गाउँठाउँमा कसरी प्रयोगमा ल्याउन सकिन्छ उनको विचारमा आयो । त्यही विचार लिएर उनी अगाडि पनि बढिन् । तर, बाटोमा आएको अवरोधले उनलाई राजनीतितर्फ डोर्यायो ।
‘राजनीतिक विषयका कारण मलाई अप्ठ्यारो चुनौती आयो । केही गर्न पर्यो, राजनीति चाहियो । काम गर्ने सिलसिलामा धेरै यस्तो विषयले काम गर्न गाह्रो भयो । त्यसपछि राजनीति प्रवेश गर्नैपर्ने रहेछ । राजनीति आवश्यक रहेछ भन्ने लाग्यो’, सुनिता भन्छिन् ।
उनी अधिकार र कानूनका लागि बारम्बार धाएकी थिइन् । सबैले ‘हुन्छ’को आश्वासन दिन्थे । कार्यान्वयनमा कसैको ध्यान हुँदैन्थ्यो । राज्यको यही व्यवहारले उनलाई राजनीतिमा आउन बल दियो । अपांगता भएका व्यक्तिको आवाज बन्न राजनीतिमा प्रवेश गर्दा उनलाई उस्तै चुनौती थियो । शुरूआति समयमा सञ्चारको समस्याले उनलाई अप्ठ्यारो पार्यो।
‘मलाई सञ्चारमा चुनौती आयो । कार्यक्रम गर्नुपर्यो, दोभाषे हुनुहुन्थेन । केही कुरा गर्नुपर्यो । मैले त्यहाँ भएका कुरा सुन्न पाउँदिनथेँ । कुरा बुझ्न पाउँदिन्थेँ’, उनले भने ।
अपांगता त्यसमा पनि जनजाति महिला । उनी यी तीन कुरालाई चिरेर अगाडि बढिरहिन् । राजनीतिमा लागेको आठ/वर्ष भयो । यो अवधिमा उनले कयैन् अवरोध चिरेर सदनसम्म आएकी छिन् ।
‘अपांगताभित्र पनि महिला विभेद त गरिन्छ नि । महिला अपांगता भनेर पनि कहिल्यै पनि चुप लागेर बसिनँ । जुन समयमा पनि पुरुष बराबरकै सहभागिता गरेँ । म महिला हो, विभेद गर्यो भनेर चुप लागेर बस्ने मान्छे होइन । हिम्मत गरेँ । लड्ने कोसिस गरेँ’, सुनिता सुनाउँछिन् ।
अपांगताको क्षेत्रमा काम गरिरहेकी सुनिता आफूमा जिम्मेवारी थपिएको बताउँछिन् । मैत्रीपूर्ण पूर्वाधारदेखि लाइसेन्स, रोजगारीको विषयमा आवाज उठाउने उनको योजना छ । उनले नजरअन्दाज गरिएका समस्यालाई केलाएर सुल्झाउने बताउँछिन् ।
श्रवणविहीन भएपनि अपांगताको हकअधिकारका लागि आवाज उठाएकी सुनिता सशक्त सुनिन्छन् । मैत्रीपूर्ण संरचना, शिक्षा, स्वास्थ्य यी सबै अधिकार नागरिकले पाउनुपर्ने आधारभूत आवश्यकता हो । सुनिता यसमा बलियोगरि जोड दिन्छिन् ।
‘हामी बराबर काम गर्न सक्छौँ । मैत्रीपूर्ण अपांगता अनुकूल व्यवहार होस् । नीति नियम बनोस् । अरु सेवा सुविधा, शिक्षा, स्वास्थ्य रोजगारी पाउने माग पटकपटक भन्दापनि पूरा हुँदैन । यसमा हाम्रो अधिकार छ । तर, यसमा सरकारको बुझाइ पुगेन’, सुनिताले थपिन् ।
गण्डकीको सांसद बनेकी सुनिताले यो अवसरलाई चुनौतीको रूपमा लिएको बताइन् ।
‘पहिलाभन्दा धेरै जिम्मेवारी थपिएको छ । अपांगता क्षेत्रको प्रतिनिधित्व गर्छु । जनजाती महिला । विभिन्न वर्गको प्रतिनिधित्व गर्छु । म बहिरा व्यक्ति हुँ । अपांगता भएका व्यक्तिहरूका लागि धेरै ठाउँमा माग्न जाने व्यक्ति हो म । अहिले सरकारको ठाउँमा छु’, उनले भनिन् ।
सुनिता यहाँसम्म आइपुग्नुमा शिक्षाको योगदान छ । परिवारले सुनिताको शिक्षामा सँधै साथ दियो । परिवारबाट उनले कहिल्यै असहजता भोग्नुपरेन । उल्टो प्रोत्सहान मिल्थ्यो । के गर्छस् साथ छ भन्थे । तर, समाज भने उनलाई विभिन्न वाणले हिर्काउँथ्यो ।
‘बहिरा व्यक्ति कान सुन्दैन । भविष्य के होला । बिहे होला कि नहोला यस्तै भन्थे । हेप्ने व्यवहार गर्थे’, सुनिताले भनिन् ।
समाजको वचनलाई सुनिताले मिहिनेत र लगनशिलताले जवाफ दिइन्। केही गर्न सक्दिनँ भन्ने समाजको अघि आज सुनिता आफ्नो समुदायको प्रतिनिधित्व गर्दै सदनमा उभिँदै छिन् ।
‘अहिले हेर्दा नीति नियम जुन छ नि कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्ने कोसिसमा जान्छु । कामहरू धेरै छन्। पहिलो भनेको बहिरा अपांगता भएका व्यक्तिहरूको लाइसेन्सका कुरा हो । अपांगता भएका व्यक्तिलाई अनुकूल हुने काम गर्ने कोसिस गर्छु’, सुनिताले आफ्ना योजना सुनाइन् ।