
पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।
तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याकोे बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो ।
उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ ।
पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि नै पाकिस्तानले आफ्नो पश्चिमी सीमावर्ती क्षेत्रमा चरमपन्थी हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।
इस्लामाबादले काबुलका शासकहरूले सीमा पारबाट पाकिस्तानमाथि आक्रमण गर्ने लडाकूहरूलाई निर्मुल पार्न असफल भएको आरोप लगाएको छ ।