०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

अदालतको हातमा रविको राजनीतिक भविष्य, मुद्दा दायरसँगै सांसद पद स्वतः निलम्बन

पुस ८, २०८१
काठमाडौं
अदालतको हातमा रविको राजनीतिक भविष्य, मुद्दा दायरसँगै सांसद पद स्वतः निलम्बन

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राजनीतिक भविष्य अन्योलमा परेको छ । सहकारी ठगीसहित तीन अभियोगमा आइतबार मुद्दा दायर भएसँगै उनको आगामी राजनीतिक भविष्य अदालतको हातमा पुगेको छ ।

अदालतले सफाइ दिएको खण्डमा उनलाई राहत मिल्नेछ अन्यथा उनले तत्काल सांसद पद गुमाउनेछन् भने आगामी संसदीय राजनीतिक यात्रामा पनि धक्का लाग्न सक्नेछ । 

यसैबीच मुद्दा दायर भएसँगै लामिछानेको सोमबारदेखि बयान र त्यसपछि थुनछेक बहस हुने भएको छ । सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। 

आइतबार लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

हाल लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

कुल ६३ जनालाई विभिन्न चरणमा प्रतिवादी बनाएर दायर मुद्दामा सहकारी ठगीतर्फमात्रै १ अर्ब ५१ करोड रुपैयाँ मागदाबी गरिएको छ।  
००००
सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । 

मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनको सांसद पद निलम्बनको माग कास्की जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा पनि गरिएको छ ।
००००
रास्वपाका  लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले यसबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको छ । सचिवालयमा पत्र पुगेसँगै अब यसबारे आवश्यक निर्णय हुने जनाइएको छ । 
००००
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका निकोलस भुसाल पक्राउ परेका छन् । 

केही दिनअघि हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 उनलाई राजधानीबाट आइतबार पक्राउ गरिएको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
००००
सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जनालाई बढुवा तथा पदस्थापन गरेको छ। 

प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको हो ।
००००
आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा पठाइएको छ ।

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन साथ ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । तर बयानको क्रम जारी नै रहेकाले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक १३.५३ अङ्कले घटेर २५८३.२९ को विन्दुमा अडिएको हो ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापतिको चुनाव लड्ने बताएका छन् ।

कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सभापतिमा चुनाव लड्ने उल्लेख गरेका हुन् । सभापति जित्नेमा शतप्रतिशत विश्वस्त रहेको कोइरालाको दाबी छ ।
००००
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आउँदो बुधबार केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्