सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे छलफल गर्न आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीसरहको कुर्सीमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सिंहदरबारमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्चस्तरीय छलफल भएको थियो ।
प्रमुख सत्तासाझेदार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीसरह कुर्सीको व्यवस्था गरिएको थियो । यसअघि अन्य पूर्वप्रधानमन्त्री समेतलाई बोलाइएको कार्यक्रममा देउवा प्रधानमन्त्रीभन्दा फरक कुर्सीमा बस्ने गरेका थिए ।
आइतबार देउवाबाहेक अन्य पूर्वप्रधानमन्त्री उपस्थित थिएनन् । देउवालाई प्रधानमन्त्री ओलीसँगै उस्तै कुर्सीमा बस्ने व्यवस्था गरिएको थियो । कांग्रेस–एमालेले ५ महिनादेखि सत्ता साझेदारी गरिरहेका छन् ।
कांग्रेस र एमालेबीच सत्ता सहयात्रा राम्रोसँग चलिरहेको छ भन्ने भान पार्न पनि समान कुर्सीको व्यवस्था गरिएको हुन सक्ने सचिवहरूबीच चर्चा भएको थियो ।

सरकारका मन्त्रीहरू, सचिवसहित आइतबारको कार्यक्रममा देउवाका अतिरिक्त महामन्त्री गगन थापा समेत सहभागी भएका थिए । देउवालाई सम्मान स्वरूप प्रधानमन्त्रीसरहको कुर्सीमा राखिएको बुझ्न सकिन्छ ।
कुर्सीको विषयलाई लिएर विगतमा नेताहरूबीच विवाद चल्ने गरेको थियो । २०७५ सालमा नेकपा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा गठन भएपछि पार्टी कार्यालयमा दुई अध्यक्षलाई समान कुर्सीको व्यवस्था गरिएको थियो ।
२०७९ मा प्रचण्डको नेतृत्वमा सरकार बनेको बेला साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीमाथि ओली हावी भएको टिप्पणी भएको थियो ।
त्यो बेला प्रचण्ड र माधव नेपाललाई दायाँबायाँ राखेर ओली बीचमा बसेका थिए ।
कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेपछि ओली र देउवाले पनि सार्वजनिक मञ्चमा साझेदारी गरेका छन् ।
भदौ १० गते टुँडिखेलमा गौरापर्व हेर्न जानेदेखि दलित मुक्ति मोर्चाको कार्यक्रममा एउटै मञ्चमा देखा परेका थिए ।