२२ जेठ २०८३, शुक्रबार

सेना-प्रहरीको अस्पतालमा सर्वसाधारणलाई उपचार गर्ने तयारी, कार्यदल गठन

पुस ८, २०८१
काठमाडौं
सेना-प्रहरीको अस्पतालमा सर्वसाधारणलाई उपचार गर्ने तयारी, कार्यदल गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा. टंक बराकोटी नेतृत्वको कार्यदल गठन गरेका हुन् । कार्यदललाई आमनागरिकलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।

गत २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।

मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न भनेका छन् । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरू समेत सदस्य छन् ।

आमनागरिकलाई समेत सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाएको प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्