
मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारी ठगी मुद्दामा ‘फरार रहेकी’ श्रीमती अञ्जला कोइरालाको बिदा थप गरिदिन उनका श्रीमान् ऋषिकेश पोखरेलले विद्यालयमा फोन गरेको पाइएको छ । प्रतिनिधिसभाको लेखा समितिका सभापतिसमेत रहेका श्रीमान् पोखरेलले विद्यालय प्रशासनमा फोन गरेर श्रीमतीको बिदा थप गरिदिन आग्रह गरेका हुन् ।
सहकारी ठगीका विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेकी सहकारीकी पूर्वसञ्चालक कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षक हुन् । कोइरालाले लिएको ५ दिनको बिदा गत शुक्रवार सकिएको छ । थप बिदाको सूचना विद्यालय प्रशासनमा नआएको विद्यालयका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले बताए । ‘उहाँको लिखित बिदा आएको छैन,’ उनले भने भने, ‘उहाँका श्रीमानले थप केही दिन बिदा चाहिने भयो भनेर फोनमा जानकारी गराउनुभएको छ ।’
पराजुलीका अनुसार पोख्रेलले फोन गराएर श्रीमती बिरामी भएको भन्दै केही दिन बिदा थपिदिन भनेका थिए । वर्षमा चाडपर्व बिदा भनेर अतिरिक्त ६ दिन लिन पाउने व्यवस्था रहेकोमा कोइरालाले ५ दिन सोही शीर्षकमा बिदा लिएकी थिइन् ।
सहकारीमा २२ करोडभन्दा बढी रकम अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सो मुद्दामा २६ जनालाई अभियुक्त बनाइएको छ । कोइरालासहित २५ जना फरार रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले बताए ।
जिल्ला अदालत मोरङले उनीहरूविरुद्ध ३५ दिने अदालती पुर्जी जारी गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले २७ मंसिरमा उनलाई ‘फरार सूचीमा राखेर’ सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरेपछि ३० गतेबाट बिदा लेखेर उनी सम्पर्कविहीन भएकी थिइन् ।
उमागौरीमा वि.सं २०७२ देखि २०७८ सम्म कोइराला सञ्चालक थिइन् । सोही समयमा लिएर ऋण चुक्ता नगरेको भन्दै आरएसडीसी लघुवित्तले उनीसहितका सञ्चालकलाई कालोसूचीमा राखेको छ । उमागौरी सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको दाबीसहित अभियोग पत्र दायर भएको छ । प्रतिवादीहरूलाई बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा छ ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । उनी धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । राजवंशीलाई तपाई निर्दोष रहेको भन्दै बोलाएर पक्राउ गरेको थियो ।
उनले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । आफूले ३० लाख रुपैयाँ मात्र पाएको उनको भनाइ छ ।
सहकारी ठगीमा श्रीमतीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लेखा समितिको आइतबार बसेको बैठकमा सांसदहरूले सभापति पोखरेलको राजीनामा मागेका थिए ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।