०३ असार २०८३, बुधबार
उमागौरी कृषि सहकारी ठगी प्रकरण

सांसद पत्नीसँग सोधपुछसमेत भएन, पीडित पूर्ववडाध्यक्षलाई निर्दोष भन्दै बोलाएर थुनियो

पुस २, २०८१
विराटनगर
सांसद पत्नीसँग सोधपुछसमेत भएन, पीडित पूर्ववडाध्यक्षलाई निर्दोष भन्दै बोलाएर थुनियो
तस्वीर : उमागौरी सहकारीको साइन बोर्ड र प्रतिवादी सांसद पत्नी अञ्जला । पृष्ठभूमिमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया ।

मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी सांसद पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलाशले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कोइराला संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।

जारी पक्राउ पुर्जी अनुसन्धान गर्ने निकाय इलाका प्रहरी कार्यालय रंगेलीलाई पठाइएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘सहकारी ठगी प्रकरणमा २५ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रतिवादीलाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाएका छौं । सात दिनभित्र प्रतिवादीहरू  पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र प्रतिवादीको घरमा तामेली गर्दछ,’ सूचना अधिकारी बुढाथोकीले भने, ‘म्याद गुजारी बसेमा कानुनबमोजिम प्रक्रिया अगाडि बढ्नेछ ।’

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर  २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धानगरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले शुक्रवार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

सहकारी स्थापना गर्दा पोखरेलले श्रीमतीलाई सञ्चालक समितिमा राखेका थिए । अञ्जला २०७२ देखि ०७८ सम्म सञ्चालक सदस्य थिइन् । उनीसमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ऋण लिएको थियो । तर, ऋण नतिरेपछि सहकारीले अञ्जलासहित सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको छ भने उनीहरूलाई कालोसूचीमा राखेको छ । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि राजीनामा दिएकी थिइन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा पनि विचाराधीन छ ।

null

मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

को–को छन् प्रतिवादी, के छ प्रहरीको तयारी ?
उमागौरी सहकारी प्रकरणमा जोडिएकालाई पक्राउ गर्न प्रहरीले मोरङले भने खासै चासो दिएको छैन । आरएसडीसी लघुवित्तले कालोसूचीमा राखेको अञ्जलाविरुद्ध मुद्दा दर्ता गरे पनि उनीसँग सोधपुछसमेत गरेको छैन । प्रहरीले उनलाई सोधपुछ समेत नगरी ‘फरार सूचीमा राखेर’ मुद्दा दर्ता गरेको हो ।

अञ्जला भने विराटनगरमै रहेको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् । शुक्रवार दिउँसो उनी विद्यालयमा गएकी थिइन् । सोमबारदेखि भने उनले ५ दिन बिदा लिएकी छिन् । ३५ दिनको म्याद कटेपछि सोझै अदालतमा हाजिर गराउने योजना मोरङ प्रहरीको रहेको स्रोतको दाबी छ ।

अञ्जलालाई जोगाउन कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पत्र नै पठाएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले भने फरार २५ जना प्रतिवादीलाई पक्राउ गरिने दाबी गरे ।  

यसैगरी, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्ष मुख्य अभियुक्त देखिएको दाबी गरे । तीनै जना पक्राउ नपरेसम्म सहकारी ठगीको तथ्य नखुल्ने उनले बताए । अनुसन्धानको प्रक्रियामा प्राप्त कागजातको आधारमा प्रतिवादी कायम गरेको उनको भनाइ छ । उनले तीन जना मुख्य अभियुक्त भएको दाबी गरे पनि अदालतमा दायर भएको अभियोग पत्रमा भने २६  जनालाई समान अभियोग लगाइएको छ ।

सञ्चालक समिति तथा ऋण समितिले संस्थालाई नाफामा देखाउन गलत लेखा परीक्षण गराउने र संस्थाको बैठकमा सबै उपस्थित भएर निर्णय गर्ने भएकोले सहकारी ठगीमा सबैको संलग्नता देखिएको अभियोग पत्रमा उल्लेख छ । यस्तै, महिला उद्यमशीलता कर्जाको रकमको केही हिस्सा मात्रै पीडितलाई दिएर अन्य रकम अभियुक्तहरूले खाएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्यक्ष रौनियार तथा सञ्चालक अञ्जलासहित सहकारीका उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्यहरू आमोदकुमार मण्डल, जितमान ठाकुर र रोशन राजवंशीविरुद्ध मुद्दा चलाएको छ । त्यस्तै, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलाई पनि प्रतिवादी बनाइएको छ ।

त्यस्तै, पूर्वउपाध्यक्षहरू दिलमाया राई, उपासी राजवंशी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्वसहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्वसदस्यहरू ज्योति बाँस्कोटा, मित्रप्रसाद सिवाकोटी, शरदराज सिंह, मनोजकुमार सोनी, मोहम्मद नसरुद्दिन र यशोदाकुमारी राजवंशीविरुद्ध मुद्दा चलाइएको छ । सहकारीका लेखापाल सोनु यादव, पूर्वकर्मचारीहरू मोहम्मद नजाम उद्दिन र चम्पा गिरी पनि प्रतिवादी छन् । फरार प्रतिवादीको सूचीमा रंगेली नगरपालिका वडा नम्बर २ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् ।

अभियोग पत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको देखिएको उल्लेख छ ।  ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ ।

निर्दाेष भन्दै बोलाएर पक्राउ गरियो
उमागौरी सहकारी प्रकरणमा रोशन राजवंशीलाई प्रहरीले आफैं बोलाएको थियो । अध्यक्षको फट्याइ देखिएको भन्दै उनलाई इलाका प्रहरी कार्यालय रंगेलीले बोलाएको थियो । प्रहरीले ‘तपाई आएर सहयोग गर्दिनु पर्‍यो’ भनेपछि उनी इलाका प्रहरी कार्यालय रंगेली पुगेका थिए । तर, उनी पुग्दासाथ प्रहरीले नियन्त्रणमा लिएको स्रोत बताउँछ । उनलाई २५ दिनसम्म इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । गत शुक्रवार जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनी स्थापना कालदेखि नै सहकारीका बचतकर्तासमेत हुन् ।  

उनी धनपालथान गाउँपालिका ४ का पूर्वअध्यक्ष समेत हुन् ।  धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष राजवंशी सहकारीबाट आफैं पीडित हुन् । उनले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेको भन्दै प्रहरीमा उजुरीसमेत हालेका थिए । सो रकममा आफूले ३० लाख रुपैयाँ मात्र पाएको उनको भनाइ छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्