२२ जेठ २०८३, शुक्रबार

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै दलित समुदाय

पुस ९, २०८१
झापा
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै दलित समुदाय

 सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका छन्। 

“आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गरेका पबितारले भने, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।” उनले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताए ।  

पबितारले यस वर्षमात्र दुई क्विन्टल काउलीबाट मात्र रु ६० हजार आम्दानी गरे भने अहिले खेतमा गोलभेँडा लगाएका छन् । उनीजस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आएका छन् । तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए ।  गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उनले जानकारी दिए ।

पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् । 

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो । किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताए । 

किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्