
रमेश गिरी/रासस
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।
त्यसैले कार्यालय जान-आउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै उनी सधैंको लागि अस्ताए ।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अबस्थामा फेला परेका बाबु कुलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको छ ।
सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोबाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।
कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने वीभत्स तरिकाले टाउकोमा लोहोरो प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुवा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होइनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबार देखिनै शोकाकुल बनेका छन् ।
मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ती दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बन्यो ।
घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा माया गर्ने आफ्नै बाबु र भाइको वीभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउँछन् मृतक परिवारका आफन्त दीपक पाण्डे ।
कुलप्रसाद गत शनिबार साँझसम्म कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए उनी । बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घटना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।
शनिबार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकस्मात् भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन् ।
मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । 'मरो जेठोले आफूले अति माया गर्ने बुवा र भाइको हत्या गर्यो भनेर मैले कसरी पत्याउनु, मरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु ।' भन्दै भावविह्वल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अवस्था नरहेको पाण्डे बताउँछन् ।
यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई सम्हाल्न सकस परेको छ ।
परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो ।
कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । विभिन्न प्रतियोगिताहरूमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए ।
मृतक कुलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेको जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्ययनका लागि जाने तयारी गरेको बताए ।
मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा विवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकाशप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।
उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघमा सक्रिय भएकी नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरूको भविष्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमी कमजोरी नगरेको बताउँछन् ।
घटना हुनुभन्दा दुई दिन अघिमात्रै मिलनले बुवा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिबार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घटना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।
पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।
प्रहरी वृत्त थिमीमा जाहेरी दिन र घटनाको सत्य तथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पुगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् ।
प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाब बढेकाले दुवै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।
शनिबार राति बुवा र भाइको हत्या गरेर आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर उनी बाहिरिएका थिए ।
घटनापछि प्रहरीको चौतर्फी खोजीमा रहेका उनी मङ्गलबार आफैं महाराजगञ्ज प्रहरीमा पुगेका थिए ।