
दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
बुधबार दिउँसो १:५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो रिक्सा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३:३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
अटोरिक्सा चालक राजपुर गाउँपालिका-३ भैसहवा निवासी ४० वर्षीय मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।