
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जनमा विशेष अदालतबाट सफाइ पाएका साकिर अहमदविरुद्धको भ्रष्टाचार मुद्दामा विशेषको सफाइ दिएपछि आयोग सर्वोच्च पुगेको हो । उक्त मुद्दामा विशेषले गत २०८१ वैशाख १३ गते प्रतिवादी अहमदलाई सफाइ दिएको थियो ।
अहमदले गैरकानूनी सम्पत्ति आफ्नो खातासँगै श्रीमती नुरजहाँ र छोरा साजनको नाममा राखेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
अहमदले विभिन्न शीर्षकमा देखाएको आयको स्रोत अस्पष्ट रहेको र वैधानिक प्रमाणको अभाव रहेको आयोगको दाबी छ ।
साथै उनका नातेदारले विदेशबाट पठाएको रकमको स्रोतसमेत स्पष्ट नभएको र यसलाई वैधानिक आयमा गणना गर्न नमिल्ने भन्दै आयोगले पुनरावेदन गरेको हो ।
त्यसैगरी कृषि आय र सम्पत्तिको अन्य विवरणमा आयोगका विज्ञहरूको प्रतिवेदनलाई उपेक्षा गर्दै अदालतले गलत निर्णय गरेको जिकिरसहित अख्तियारले पुनरावेदन गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।