
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ ।
केन्द्रीय विभागमा मनोनयन, समसामयिक राजनीति र आगामी केन्द्रीय समिति बैठकको तयारीसहितका विषयमा छलफल भइरहेको हो ।
सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाका उपसभापति डोलप्रसाद अर्याल कार्यवाहक सभापति बनेका थिए ।
यसैले अर्यालसामु लामिछानेको मुद्दाको किनारा नलागेसम्म पार्टीलाई अगाडि बढाउनुपर्ने चुनौती आएको छ ।
कार्यवाहकको भरमा चलेको पार्टीमा प्रष्ट जिम्मेवारी दिनुपर्ने, महाधिवेशनको तयारी गर्नुपर्ने, तल्लो तहसम्म पार्टीका गतिविधि अगाडि बढाउनुपर्ने दायित्व उनलाई छ ।
लामिछानेमाथि मुद्दा लागेपछि फरक–फरक समूहका नेतालाई व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने चुनौतीसमेत अर्याललाई छ ।
संसदीय दलका नेता लामिछानेको सांसद पद नै निलम्बन भएपछि रास्वपालाई यो पदमा ल्याउने नेताको समेत टुंगो लगाउनुपर्ने दबाब छ । आकांक्षीको लर्कोबीच कसलाई दलको नेता बनाउने भन्नेमा रास्वपामा समान मत छैन ।