
वरुण धवन, कीर्ति सुरेश र वामिका गब्बी अभिनीत हिन्दी फिल्म 'बेबी जोन' धेरै अपेक्षाका साथ सिनेमाघरमा रिलिज भएको थियो ।
फिल्मको चर्चा राम्रो चलिरहेको छ तर, कमाइको मामिलामा बेबी जोन फ्लप भएको छ । क्रिसमसको अवसरमा २५ डिसेम्बरमा हलमा रिलिज भएको ‘बेबी जोन’को सुरुवात निकै निराशाजनक रह्यो । यसपछि फिल्मको कलेक्शनमा लगातार गिरावट आएको छ ।
‘बेबी जोन’ मा वरुण धवनले दमदार एक्सन सिन गरेका छन् । फिल्मले दर्शकबाट खासै प्रतिक्रिया नपाए पनि उनको अभिनयको पनि निकै प्रशंसा भइरहेको छ । यससँगै यो फिल्मले अल्लु अर्जुनको मेगा ब्लकबस्टर पुष्प २ सँग पनि प्रतिस्पर्धा गरिरहेको छ ।
२३ दिन पुरानो पुष्पा २ ले भर्खरै रिलिज भएको चलचित्र ‘बेबी जोन’ भन्दा धेरै कमाइ गरिरहेको छ ।
वरुण धवनको फिल्मले पहिलो दिन दोहोरो अंकको कमाइ गरेको थियो तर यसपछि फिल्म दिनप्रतिदिन झन् झन् तल झर्दै गइरहेको छ । दोस्रो दिन फिल्मको कमाइ ५० प्रतिशतभन्दा बढीले घटेको छ भने तेस्रो दिनको कलेक्शन भने अचम्मको छ ।
ट्रेड पोर्टल सकनिल्कको रिपोर्टअनुसार ‘बेबी जोन’ले ११.२५ करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन (बिहीबार) ४.७५ करोड कलेक्सन गरेको थियो । 'बेबी जोन' ले रिलिजको तेस्रो दिनमा ३.६५ करोड रुपैयाँ कमाएको छ।
योसँगै बेबी जोनको भारतमा तीन दिनमा कुल कमाइ १९ करोड ६५ लाख पुगेको छ ।
‘बेबी जोन’को कमाइ अब सप्ताहन्तमा बढ्ने अनुमान गरिएको छ । तर, मिश्रित प्रतिक्रियालाई हेर्दा फिल्मको कलेक्शनमा खासै उछाल आउने अपेक्षा गरिएको छैन ।
ट्रेन्डका अनुसार फिल्मले सप्ताहन्तमा २५ देखि ३० करोड रुपैयाँ कमाउन सक्छ । तर, अहिलेसम्म पनि त्यति राम्रो व्यापार हुन सकेको छैन र फिल्मले बक्स अफिसमा खराब प्रदर्शन गरेको निष्कर्ष निकालिएको छ ।